काठमाडौं, २० वैशाख । भारतमा थप दुई हप्ताका लागि लकडाउनको अवधि थपिएको छ । भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार मे ४ तारिकबाट थप दुई हप्ताका लागि मे १७ तारिक अर्थात जेठ ४ गते सम्मका लागि लकडाउनको अवधि थपिएको हो ।
भारतीय गृहमन्त्रालयको एक विज्ञप्ति जारी गरी हालसम्मको परिस्थितिको ठोसे मूल्याङ्कन गरी सो निर्णय गरीएको जनाएको छ । सो अवधिमा देशका विभन्न भागमा रहेका रोकिएका कामदार विद्यार्थीहरूलाइ भने रेलबाट सम्बिन्धत राज्यहरूमा जान दिने निर्णय गरेको छ । साथै सो थपिएको अवधिमा विभिन्न जिल्लाहरुलाई संक्रमणका अबस्था हेरी रेड, ग्रीन र अरेन्ज जोनकाम रुपमा विभाजन गरी ग्रीन र अरेन्ज जोन अर्थात जोखिम कम भएका जिल्लाहरुमा लकडाउन खुकुलो बनाउने जनाएको छ
यसैबीच राससका अनुसार प्रकोप व्यवस्थापन ऐन २००५ अनुसार लकडाउनको अवधि बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा लकडाउन बढाउनुको बिकल्प नरहेको सुझाव आएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र लकडाउन अन्त्य गरेमा कोरोनाभाइरसको सङ्क्रमण व्यापक रुपमा फैलिन सक्ने अधिकांशको निश्कर्ष रहको बताइएको छ ।
सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेपनि केही खुकुलो भने बनाएको छ । देशलाई कोरोनाभाइरसको सङ्क्रमणको अवस्थाका आधारमा विभिन्न तहमा विभाजन गरेर त्यसैका आधारमा लकडाउनको खुकुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाई छ । भारतमा केन्द्रीय सरकारले कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित, कम प्रभावित र प्रभाव नरहेको क्षेत्र भनेर वर्गिकरण गरेको छ । (गोरखापत्रबाट)