काठमाडौँ, २२ बैशाख । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले कोरोना भाइरसको महामारी चीनको ल्याबबाट सुरु भएका कैयन प्रमाणहरु रहेको दावी गरेका छन् । आइतबार उनले यस्तो दावी गरेपनि कस्ता प्रमाण भन्नेबारे केही बताएनन् ।
अमेरिकी खुफियाले चीनको ल्याबबाट भाइरस आएको हुनसक्ने सम्भाव्यताबारे अनुसन्धान गरिरहेको जनाइएको थियो । माइक पम्पिओले यसभन्दा अगाडि पनि यो सम्भाब्यताबारे अमेरिकाले अनुसन्धान गरिरहेको बताएका थिए । तर आइतबार एबीसी टेलिभिजनसँगको अन्तरवार्तामा उनले भने – ‘यो कहाँबाट सुरुभयो भन्नेबारेमा हामीसँग कैयन प्रमाणहरु छन् । म भन्न सक्छुकी यो युहानको ल्याबबाट आएकोबारे प्रयाप्त प्रमाणहरु छन् ।’
अन्तरवार्ताका क्रममा कोभिड १९ को कारक कोरोनाभाइरस ल्याबमा भएको दुर्घटनाको परिणामस्वरुप बाहिरिएको वा नियतपूर्वक ल्याबमा नै बनाइएको भन्नेबारे भने पम्पिओ अन्यौलमा देखिएका थिए । तर उनले भने – ‘बरिष्ठ विज्ञहरुले यो भाइरस मानवनिर्मित भएको सोंचेको देखिन्छ । उक्त कुरामा मैले अविश्वास गर्नुपर्ने कुनै कारण छैन ।’ तर जब अन्तरवार्ताका क्रममा अमेरिकी खुफियाले भाइरस मानवनिर्मित नभएको र जैविकरुपमा प्रशोधित गरिएको नभएको बताउँदै औपचारिक वक्तब्य जारी गरेको स्मरण गराइएको थियो । तब पम्पिओले भने – ‘त्यो सही हो । म त्यसमा सहमत छु ।’
डोनाल्ड ट्रम्पले पनि विहिबार यस्तै अपुष्ट दावी गरेका थिए । सोही दिन पम्पिओले एउटा रेडियो अन्तरवार्ताका क्रममा भाइरस युहान इन्स्टीच्युट अफ भाइरोलोजीबाट आएकोबारे आफूलाई थाहा नभएको बताएका थिए । त्यस्तै उनले भाइरस मासुबजार वा अन्य ठाउँबाट आएकोबारे पनि आफूलाई थाहा नभएको र कहाँबाट आयो भन्ने जवाफ आफूसँग नभएको बताएका थिए । कैयन महामारीविदहरुले युहान इन्स्टीच्युट अफ भाइरोलोजीबाट महामारी सुरु भएको हुनसक्ने सम्भावना रहेको बताएका छन् । यो ल्याबमा विभिन्न प्रकारका कोरोनाभाइरसबारे अध्ययन गरिदै आएको छ । तर यो सिद्धान्त प्राकृतिक रुपमा चमेराबाट कुनै जनावरमा संक्रमणभएर मान्छेमा फैलिएको हुनसक्ने सिद्धान्तको तुलनामा कम सम्भावित देखिन्छ ।
चीनले भाइरस ल्याबबाट फुत्केको हुनसक्ने सम्भावनालाई अस्वीकार गरेको छ । तर चीनका अधिकारीहरुले विश्व स्वास्थ्य संगठन लगायतका अनुसन्धानकर्ताहरुलाई भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न स्वीकृति दिएका छैनन् । चीनले मासुबजारबाट कोरोना फैलिएको बताएपनि उक्त मासुबजारबाट लिइएका नमुनाहरु पनि उपलब्ध गराउन मानेको छैन । सन् २०१८ मा अमेरिकी कुटनीतिज्ञ र वैज्ञानिकहरुले युहान इन्स्टीच्युट अफ भाइरोलोजीको सुरक्षा मापदण्डबारे चासो व्यक्त गरेका थिए । (खसोखासखबरडटकमबाट)