२३ वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६ लाख ५७ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार ९६ जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा १९५, स्पेनमा १६४, फ्रान्समा ३०६ र बेलायतमा २८८ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा भने १ हजार ३२४ जनाको मृत्यु भएको छ ।
भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० जना नयाँ संक्रमित फेला परेका छन् भने १९५ जनाको मृत्यु भएको छ । भारतमा यो सहित मृत्यु हुनेको संख्या एक हजार ५६८ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३३ पुगेको छ ।