Logo

ओलीको हात्ती र झोला



‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भनेझैँ भयो नेकपा सचिवालय बैठकको निर्णय । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टि नेकपाका उपाध्यक्ष वामदेव गौततलाई प्रधानमन्त्री बनाउने भन्ने कुरामा थिएन । न त त्यो सचिवालय बैठकको एजेण्डा नै थियो । तर, एक्कासी प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको अवस्था सामान्य भएपछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने कुरा अगाडि सारे । सचिवालय बैठकमा प्रधानमन्त्री स्वयंम्ले यसो भनेपछि गौतम प्रधानमन्त्री नभएसम्म ओली अन्तरिम प्रधामन्त्रीका रुपमा रहने कुरा जो–कोहीले पनि बुझ्न सक्छन् । अन्तरिम प्रधामन्त्रीले दैनिक राजकाज चलाउने बाहेकका महत्वपूर्ण निर्णय गर्न मिल्दैन ।

प्रधानमन्त्री ओलीले सचिवालयको औपचारिक बैठकमै गौतमलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि गौतम भावी प्रधानमन्त्रीका लागि आफू निकट कानुनी सल्लाहकार भेला गरेर परामर्शमा जुटे । कानुनी सल्लाहकारहरुले ‘संविधान संशोधन नभएसम्म राष्ट्रिय सभाबाट मनोनीत व्यक्ति प्रधानमन्त्री हुन पाउँदैन’ भनेपछि गौतमले अब प्रतिनिधि सभाको निर्वाचन जितेर प्रधानमन्त्री हुने सपना देखिरहेका छन् । उनका लागि महासचिव विष्णु पौडेलले पाल्पा क्षेत्र नं १ छुट्याइदिएका छन् ।

यस अगाडिको सचिवालय बैठकले गौतमलाई राष्ट्रपतिबाट मनोनयन हुने राष्ट्रिय सभाको एक सदस्य पदमा पठाउने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीले त्यो निर्णय आफूलाई मान्य नहुने र अर्थमन्त्री युवराज खतिवडालाई नै पुनः राष्ट्रिय सभामा पठाउने अढान लिएका थिए । गौतमको पछिल्लो निर्णयले खतिवडालाई पुनः राष्ट्रिय सभामा जाने ढोका खुलेको छ । सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले गौतमको कमजोरीबाट फाइदा उठाएपछि आफूलाई अलि सहज महशसुश गरेका छन् ।

अब स्थायी समितिको बैठकमा समेत यसैगरी सबैलाई थाङ्नामा सुताउने योजना प्रधानमन्त्री ओलीले बुनिरहेका छन् । स्थायी समितिमा जतिसुकै चर्को स्वरमा प्रधानमन्त्रीको कार्यशैलीको विरोध भएपनि त्यो बैठकले बाह्र वर्ष ढुँग्रामा राखेपनि पुच्छर सोझ्याउन सक्ने छैन । स्थायी समितिको बैठकमा प्रधामन्त्री ओलीले भन्न सक्छन्, ‘प्रधानमन्त्री छाड्छु भनिसकेँ, अध्यक्ष चाहिएको हो भने तीन जना अध्यक्षको व्यवस्था गरौँ भनिसकेँ । अब म सँग एउटा झोला मात्र बाँकी छ, त्यो झोला पनि दे भन्नुहुन्छ भने त्यो झोला पनि दिउँला । झोलाले मात्रै पुगेन, हात्ती पनि चाहियो भन्नुहोला । हात्ती पनि खाजेर ल्याइदिउँला । अब त्यो झोलामा यो हात्ती हालिदिनुस् भन्ने माग गर्नुभयो भने त्यो त कसरी सम्भव होला र ? यो कथाबाट के बुझ्न सकिन्छ भने स्थायी समितिको बैठक पनि ‘हात्ती आयो फुस्सा’ हुने देखिन्छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot