Logo

नेकपा सचिवालयको बैठक बस्दै, कसले को–कसलाई फकाए?



काठमाडौं, बैशाख २४ । बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज तीन बजे बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठकले स्थायी समितिका एजेण्डामाथी छलफल गर्ने जनाइएको छ । त्यसो त स्थाई समितीको बैठक बस्नु तिन दिन अधि (आईतबार) देखि नै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतालाई छुट्टा छुट्टै भेट गरेका छन ।

यो तीन दिनको अवधिमा प्रधानमन्त्रीले नै बालुवाटारमा बोलाएर शिर्ष नेताहरुलाई समेत फकाउन थालेका थिए। ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, विष्णु पौडेललाई बेग्लाबेग्लै बोलाएर फकाउन थालेको नेकपा स्रोतले जानकारी दिदै आएको थियो ।

स्थायी कमिटीको अजेन्डा तय गर्ने जिम्मेवारी पाएका दाहाल र विष्णु पौडेलले गत सोमबार माधव नेपालसंगसमेत भेटघाट गरेका थिए । उक्त भेटपछि मंगलबार दिउँसो ओलीले दाहाल, नेपाल र खनालसँग भेट गरी विवाद मत्थर बनाउने प्रयास समेत गरेका थिए ।

नेपाल निकटका नेताहरुले ओलीले सधैं पेल्ने गरेको र दाहालले पनि नेपाललाई छक्याएर धोका दिदै आएको बताएपछि दाहालले सोमबार नेपाललाई बेग्लै भेटेको समेत स्रोतको दाबी छ । अहिले दुवै पक्षका नेताहरु स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल सम्बन्धि गृहकार्यमा जुटेका छन् ।

त्यसो त ओलीले पार्टीलाई सहमतिका आधारमा अघि बढाउने आश्वासन दिदै आएपनि उनको भनाई र गराईमा परिवर्तन कायमै रहेकाले नेपाल र दाहाल पक्ष विश्वस्त भने देखिदैनन् ।



प्रतिक्रिया दिनुहोस्