Logo

उपत्यका प्रवेशमा थप कडाइ



काठमाडौँ, २५ वैशाख । कोभिड–१९ महामारीको सङ्क्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ ।

यसक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बुधबार नागढुङ्गा नाकाको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।  बाहिरबाट उपत्यका आउनेका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्ने र नाकामा सुरक्षाकर्मी थप्ने तयारी गरिएको छ । यसअघि काठमाडौंँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले नागढुङ्गा नाकाको निरीक्षण गरी उपत्यका प्रवेशमा कडाइ गर्न निर्देशन दिएका छन् । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नाकामा कडाइ गरी उपत्यकाको आन्तरिक बन्दाबन्दी खुकुलो बनाउँदा खासै फरक नपर्ने बताएका छन् । उपत्यकाको आन्तरिक बन्दाबन्दी खुकुलो हुने बित्तिकै राहतको समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ ।

मङ्गलबार काठमाडौँ महानगरका प्रमुख शाक्यसहित ललितपुर, भक्तपुर र ठिमीका प्रमुखहरूको भेलाले नाकामा कडाइ गरी आन्तरिक बन्दाबन्दी खुकुलो बनाउन सुझाव दिएका छन् । उपत्यकासँग जोडिएका नागढुङ्गा, फर्पिङ र साँगा जगाते मुख्य नाका हुन् । त्यसका अतिरिक्त मुड्खु, टोखा, साँखु जरसिंहपौवा, रामकोट, ललितपुरको लुभु र लेले, चन्द्रागिरी लगायत अन्य नाकामा समेत थप सुरक्षाकर्मी परिचालन गरी कडाइ गर्नुपर्ने बताएका छन् । नागढुङ्गा, मुड्खु र जगातेमा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । त्यस्तै, अन्य नाकामा महानगरीय प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी एकै साथ परिचालन गर्ने तयारी भइरहेको छ । महानगरीय प्रहरी प्रमुख पोखरेलले पासबिना नै काठमाडौँ भित्रिँदै गरेका निजी सवारी साधनहरू फिर्ता गरिएको बताएका छन् । खाद्य, तरकारी, पानी, फलफूल र सवारी पास भएका सवारी साधनलाई भने अवरोध छैन ।

प्रमुख जिल्ला अधिकारीले सवारी पास भएका सवारी साधनसमेत रोक्न निर्देशन दिएपछि समस्या सिर्जना भएको छ । ट्राफिक महाशाखा प्रमुख ढकाल गृह मन्त्रालय र उपत्यकाको तीन जिल्लाबाहेक अन्य जिल्लाको पास बोकेर आउने सवारीलाई समेत फर्काइएको बताएका छन् । काठमाडौँ उपत्यकाको विभिन्न नाकाबाट सवारी पास बिना नै काठमाडौँ प्रवेश गर्ने एक सयभन्दा बढी सवारी साधन फिर्ता पठाइएको प्रहरीले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्