Logo

भारतले लिपुलेक हुँदै मानसरोवर जाने लिंकरोड खोलेकोमा नेपालको आपत्ती



काठमाडौं, २७ वैशाख । भारतले नेपाली भुमि लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित मानसरोवर जाने सडकमार्ग खोलेकोमा नेपालले आपत्ती जनाएको छ । नेपालको भूमी लिपुलेकमा पर्ने लिंकरोड शुक्रबार भारतले उद्घाटन गरेकोमा आपत्ती जनाएको हो ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले हिजो लिपुलेक भएर जाने लिंकरोड उद्घाटन गरेकोमा खेद व्यक्त गरेको छ । परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार नेपाली भूमी लिपुलेक भएर भारतद्धारा जोडिएको लिंकरोड हिजोबाट संचालनमा ल्याइएको जानकारी पाउनुलाई खेद व्यक्त गर्दछौं ।’

परराष्ट्रले सुगौली सन्धी अनुसार काली नदीको पूर्वतर्फको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने स्पष्ट भएको उल्लेख गरेको छ । नेपालले यसलाई बारम्बार उल्लेख गरिसकेको भन्दै कुटनीतिक माध्यमले पनि दुई देशको सीमा सम्बन्धी विषयको समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

यसअघि नेपाललाई कुनै जानकारी नै नदिई शुक्रबार यो सडक खोलिएपनि सरकारको कुनै धारणा सार्वजनिक नभएपछि सर्वत्र चासो र आलोचना बढेको थियो । लगत्तै आज सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

त्रिदेशीय सीमामा पर्ने लिपुलेकको विवादमा २०७२ सालमा नेपाललाई बेवास्ता गरेर भारत र चीनले सम्झौता गरेका थिए । त्यतिबेला नेपाल महाभूकम्पको मारमा परेको थियो । दुई देशले लिपुलेकको विषयमा सम्झौता गरेको पाँच वर्षपछि भारतले सडकमार्ग खोलेर रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उदघाटन गरेका छन् ।

 

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot