Logo

भारतले नेपाली भूभागमा गरेको सडक उद्घाटनको नेकपाका अध्यक्षद्वयद्वारा विरोध



काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी भारतले लिपुलेकमा बाटो उदघाटन गरेकोमा पार्टीको ध्यान आकर्षण भएको उल्लेख गर्दै यसबाट नेपालको सार्वभौमसत्तामा आँच पु¥याएको बताइएको छ ।

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र भारतबीच असल छिमेकीको सम्बन्धलाई समान सार्वभौमिकता, भौगोलिक अखण्डता, आपसी सम्मान र लाभमा आधारित रहेको कुरामा विश्वास गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, कोरोना भाइरसका कारण पूरै मानवजातीले अप्रत्यासित स्वास्थ्य संकट झेलिरहेको र हाम्रा सबै प्रयत्नहरू महामारी विरुद्ध लड्न केन्द्रित भइरहेका बेला यस्तो समयमा घटनाक्रमहरू विकसित हुनु दुखद भएको जनाइएको छ । सुगौली सन्धि लगायतका ऐतिहासिक तथ्य तथा प्रमाणहरुले काली (महाकाली) नदि पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमाग भएको स्पष्ट गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका बेला जारी गरीएको संयुक्त वक्तव्यमा नेपालको सहमति विना नै लिपुलेक पासलाई द्वीपक्षीय व्यापारिक मार्गका रुपमा समावेस गरिएकोमा पनि यी तथ्यहरूलाई नेपालले उठाएको कुरा नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ । साथै विज्ञप्तिमा भनिएको छ, दुई देशबीचको सिमा विवादको समाधानका लागि गठित परराष्ट्र सचिवको बैठकको मिति तय गर्न नेपाल सरकारले प्रस्ताव गरेको विषयबारे पनि नेपाल कम्युनिष्ट पार्टी जानकार रहेको उल्लेख छ । नेकपाले विज्ञप्तिमा भनेको छ, दुई देशको युगौ पुरानो सम्बन्धलाई ख्याल गर्दै सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान खोज्ने नेपाल सरकारको प्रयासको समर्थन गर्दछ ।

विज्ञप्तिमा अहिलेको एक पक्षीय रुपमा भएको यो काम दुई देशका उच्च राजनीतिक तहको सहमतिमा खडा गरिएका सयन्त्रबाटै सबै खालका सीमा विवाद हल हुन पर्छ भन्ने नेपालको पटक पटकको अनुरोध विपरित भएको उल्लेख छ । साथै विज्ञप्तिमा नेकपाले नेपाल र भारतीय सरकार दुबैलाई सबै सीमा विवादहरु यस अघि भएका समझदारी अनुरुप कुटनीतिक माध्यमबाट समाधान गर्न तत्काल प्रयास थाल्न आग्रह गरेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot