Logo

प्रदेश ५ मा सङ्क्रमित थपिँदा जोखिम बढ्यो



काठमाडौँ, २८ वैशाख । खुला सीमाका फाइदा उठाउँदै लुकीछिपी नेपाल छिर्नेका कारण प्रदेश ५ मा कोरानाको जोखिम झन् बढ्दै गएको छ । लुकीछिपी भारतबाट कपिलवस्तु छिरेकाहरूमा सङ्क्रमण बढ्दै गएपछि जोखिम झन् बढेको हो ।

पछिल्लोपटक शनिबार कपिलवस्तुका थप तीनजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक १७ वर्षीय र दुईजना १८ वर्षीय युवकमा कोरोना सङ्क्रमण देखिएको हो । जिल्ला प्रशाशन कार्यालय कपिलवस्तुका अनुसार उनीहरूमध्ये दुई मायादेवी र एकजना शुद्धोधन गाउँपालिकाका हुन् । कोरोना पुष्टि भएसँगै उनीहरूलाई शनिबार नै बुटवलमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा ल्याइएको छ ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । स्थानीयका अनुसार उनीहरू भारतको मुम्बईबाट चाकरचौराह नजिकको दसगजा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गरेका थिए । वैशाख २३ गते रातिदेखि तीर्थादेवी छत्रपाली माविको एकान्तवासमा बसेका थिए । युवाहरूले सिधै एकान्तवासमा आएको बताएका छन् । यद्यपि, यसबारे स्थानीयबाट सत्य–तथ्य बुझ्न बाँकी रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताएका छन् । उनीहरूमध्ये एक मुस्लिम र दुईजना अन्य समुदायका छन् । दुई दिनअघि कोरोना सङ्क्रमण देखिएका दुईजना पनि मायादेवी गाउपालिका–२ कै रहेका थिए । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्