Logo

न कुनै लक्षण थाहा भयो, न त कुनै असर



काठमाडौ, २९ वैशाख । साउदी अरबबाट घर फर्केको ४६ दिनपछि कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिनुभएका भोजपुरका उपेन्द्र राईले कोरोनाको असर बुझ्नै नपाई डिस्चार्ज भएका छन् ।

भोजपुर हतुवागडी–६ का २६ वर्षीय राई वैशाख १३ गतेदेखि अस्पतालमा उपचारत भई आइतबार डिस्चार्ज भएको हो । तर, उनले संसारलाई असर पु¥याइरहेको कोरोनाले आफ्नो स्वास्थ्यमा कुनै प्रभाव नपारेको बताएका छन् । मलाई केही भएकै थिएन र अहिले पनि केही भएकै छैन, राईले भने– मलाई कोरोना छ भनेर डाक्टरलाई मात्रै थाहा छ । उनी फागुन २७ गते साउदी अरबबाट घर फर्कनु भएको थियो । घर फर्केको ४६ दिनपछि सङ्क्रमित भएको खबरले आफूलाई सुरुमै कुनै पनि डर उत्पन्न नभएको उनले बताएका छन् ।

गाउँघरमा अलिअलि हल्ला गरेछन्, राईले हस्यौली गर्दै भने– भाग्यो रे पनि भनेछन् । उनले आफूलाई कुनै लक्षण बिना पोजेटिभ र कुनै असर बिना नेगेटिभ भएको कुराले सचेत गराएको बताएका छन् । डिस्चार्जपछि १४ दिनसम्म घर नफर्कने बताउँदै उहाँले स्थानीय तहको क्यारेन्टीनमा बस्ने ईच्छा जाहेर गरेका छन् । डिस्चार्जपछि अस्ताल परिसरमा हँसिलो मुद्रामा प्रतिक्रिया दिँदै उनले घरपरिवार र छरछिमेकमा पर्नसक्ने मनोवैज्ञानिक असरलाई कम गर्न आफूले तत्काल क्वारेन्टीनमै बस्नु उचित हुने निर्णयमा पुगेको बताएका छन् । संसारका अन्य मुलुकका नागरिकको अवस्था त्यस्तो हुँदा नेपालमा कोरोना सङ्क्रमित धमाधम घर फर्कन पाउनु भाग्य रहेको उनको बुझाइ थियो ।

बिदाईमा स्वास्थ्यकर्मीसँग हार्दिकता साटेर हातमा पुष्पगुच्छासँगै निस्कनुभएका झापा बाह्रदशीका ४० वर्षीय मुजाइर आलमले चिकित्सकको सुझावका आधारमा दैनिकी व्यवस्थापन गर्ने बताएका छन् । उनले स्वास्थ्यकर्मीसँग परामर्शमा रहिरहने बताउँदै सङ्क्रमणलाई सजिलै परास्त गर्न सकेको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्