Logo

काठमाडौँमा बढ्यो चहलपहल, ५६० सवारी कारबाहीमा



काठमाडौँ, २९ वैशाख । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यक बाहेकका सामग्री पसलसमेत खुलेका छन् ।

सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लक डाउन’ खुकुलो भएको भन्ने बुझाइका कारण काम नपरी पनि घर बाहिर निस्कन थालेको पाइन्छ । पहिले विहान, साँझ मात्रै खुल्ने खाद्यान्नको पसल जुनसुकै समय खोल्ने प्रशासनको निर्णयका कारण पनि उपत्यकाका विभिन्न भागमा दिनभरजसो मानिसको आवतजावत देखिएको छ । कतिपयले सवारी साधन बाक्लो हुँदा सडकमा जाँच हुँदैन भनेर पनि निस्केको पाइएको छ ।

कतिपय व्यक्ति अब त लक डाउन खुकुलो छ भन्दै घुम्न निस्केको पनि भेटियो । सीमित क्षेत्रमा मात्रै खुकुलो बनाइए पनि धेरैमा पहिले जस्तै पालना गर्नुपर्छ भन्ने थाहा नभएको वा थाहा भए पनि प्रहरी कम परिचालन हुन्छन् भन्ने सोचेर बाहिर निस्केको पाइएको छ । उपत्यकामा निर्माणका लागि आवश्यक हार्डवेयर पसल खुल्ने भनिए पनि कतिपय स्थानमा चिया पसल, क्याफे, कस्मेटिक्सलगायत पसलसमेत खुलेको देखिन्थ्यो ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले भने कार्यालय र उद्योग खुलेपछि आवतजावत बढ्नु स्वाभाविक भएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) जीवन श्रेष्ठले चहलपहल बढ्दा सवारी पासको दुरुप्रयोग बढ्न सक्ने भएकाले जाँच बढाइएको बताएका छन् । लक डाउनको शुरुको साताभन्दा पछिल्लो समय पासको दुरुप्रयोग बढिरहेको उनले बताएका छन् । ट्राफिक प्रहरीले विभिन्न स्थानमा जाँच पनि बढाएको उनको भनाइ छ । उनले भने, “हामीले पहिलेभन्दा जाँच अझ कडाइ गरिरहेका छौँ ।”

आइतबार दिउँसोसम्म सवारी पासको दुरुपयोग गर्ने चार पाङ्ग्रे १०२ र दुई पाङ्ग्रे ४५८ गरी ५६० सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । दैनिक ७०० देखि ८०० सम्म सवारी साधन कारवाहीमा परिरहेको उनले बताएका छन् । अहिले खुलेका कार्यालयमा जनशक्ति र सवारी साधनको प्रयोग सहीरुपमा भइरहेको छरछैन भनी नियमनको जिम्मेवारी सम्बन्धित मन्त्रालयको सचिवलाई दिइएको छ । त्यससँगै ट्राफिक प्रहरीले पनि जाँच गरिरहेको छ । उनले भने, “गल्ती भेटिँदा कारवाही पनि भइरहेको छ ।”

उपत्यकामा भिडभाड हुन नदिन कस्ता सवारी साधन कुन समयमा चल्न दिने भनी समय निर्धारण गरिएको छ । विकास निर्माणसम्बन्धी सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी विहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्