Logo

लकडाउन : खुकुलो कि अव्यवस्थित ? (आजको तस्विर)



वैशाख २९, काठमाण्डौ । चैत ११ गतेदेखिको लकडाउन लम्बिदै जाँदा विभिन्न समस्या देखापरेका थिए । त्यसैले सुरुवाती दिनमा जस्तो कडा लकडाउनलाई निरन्तरता दिन नहुने अवाज उठ्यो । सरकारले पनि डेडमहिनापछि लकडाउन खुकुलो बनाउने निर्णय गयो । तर खुकुलो बनाउने नाममा अव्यवस्थित बनाएपछि कोरोनाको जोखिम बढेको छ ।

पछिल्लो पटक पटक थपिएको लक डाउन अवधि जेठ ५ गतेसम्मका लागि हो । अब एक हप्ताभन्दा कम लक डाउन हुनेछ । जेठ ५ गतेपछि के गर्ने भन्ने सरकारले निर्णय गर्ला । तर पछिल्लो पटक वैशाख २६ गतेदेखि लकडाउन केही खुकुलो बनाउने भन्दै सरकारले सवारी सधान चल्न दियो ।

विशेषगरी विभिन्न कार्यालय खुलाउने निर्णयसँगै सवारी सधान सडकमा निस्किन थालेका हुन् । सरकारले लकडाउनमा गर्दै आएको कडाईको अन्त्य त गर्यो तर नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । काठमाण्डौ उपत्यकामा अहिलेसम्म डरलाग्दो अवस्था नदेखिए पनि उपत्यकाबाहिरका विभिन्न जिल्लामा जोखिम बढिरहेको छ । यसको अर्थ काठमाण्डौमा जोखिम छैन भन्ने होइन ।

सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक हो । तर काठमाण्डौ उपत्यकामा पछिल्ला दिनमा देखिएको दृश्यले लापरबाही बढेको अनुभूति हुन्छ । सर्वसाधारले पनि कोरोनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

ट्राफिक प्रहरीले सरकारको नीतिविपरित मा अनावश्यक काममा बाहिर निस्कनेलाई कारबाही गरिरहेको छ । तर पछिल्ला दिनमा उल्लेख्य संख्यामा सवारी साधान सडकमा निस्कन थालेपछि ट्राफिक प्रहरीलाई पनि लकडाउन कार्यान्वयन गराउने कठिन भइरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम प्रसाद ढकालका अनुसार सरकारले केही कार्यालय र उद्योग खोल्न दिने निर्णय गरेपछि सवारी साधान सडकमा निस्कन थालेको बताए । तर सकेसम्म जथाभावी बाहिर निस्कनेलाई कारबाही गरिएको ढकाल बताउँछन् ।

त्यसो त सरकारलाई जे गरे पनि सुख छैन । लकडाउन कडा गरे पनि आलोचना खुकुलो बनाए पनि आलोचना । तर के चाँही सत्य हो भने सरकारले व्यवस्थित बनाउन भने सकिरहेको छैन ।



प्रतिक्रिया दिनुहोस्