Logo

दुबईमा कोरोना संक्रमित नेपालीले रुँदै भने- मलाई बनाउनुहोस्, देश फर्कन पाए बाँच्ने थिएँ



काठमाडौं, २ जेठ । वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीहरु अहिले समस्यामा परेका छन् । हजारौंको संख्यामा नेपालीहरु संक्रमिन भएका छन् । त्यसमध्ये दुबईमा रहेका नितेषकुमार यादव पनि हुन् । उनले आफ्नो उपचार राम्ररी नभएको भन्दै देश फर्कन पाउँ भनेका छन् । आफूलाई बचाउन भन्दै उनले ऋषि धमलासँग रेडियो एनआरएनमा दुबईबाट टेलिफोनमा गरेको कुराकानीः
तपार्इं के गर्दै हुनुहुन्छ ?
म दुबई छु । मलाई कोरोना लागेको छ । यहाँ एउटा रुममा राखिदिएको छ । उपचार गर्न अस्पताल लगिएको छैन । कम्पनीले पनि आज आउँछ, भोलि आउँछ भन्छ ।
तपाईलाई अस्पताल लगेर उपचार गरिएको छैन ?
केही भएको छैन दाइ । दाइ मलाई बँचाउनुहोस् । नेपाल आउन पाएँ म बाँच्ने थिएँ । ऋषि दाइ मलाई यिनीहरुले केही गर्दैनन् ।
तपाईंलाई कोरोना संक्रमण कसरी भयो ?
म करिब एक महिना अगाडिदेखि नै घर जान भनेर आँटेको थिएँ । कम्पनिसँग कुरा गरेर रुममा पुगेँ । त्यसपछि मलाई धेरै ज्वरो आयो । टाउको पनि दुखिरहेछ । आज ४, ५ दिनदेखि एउटा रुमा राखिएको छ । अस्पतालबाट मान्छे आएको छैन । मलाई बँचाउनुस् दाइ ।
तपाईंको नाम भन्नुस् न ?
मेरो नाम नितेषकुमार यादव हो ।
घर कहाँ हो ?
मेरो घर सिराहा जिल्ला मिर्चैया हो ।
तपाईं दुबई गएको कति वर्ष भयो ?
म दुबई आएको २७ महिनाजति भयो ।
अहिले तपाईंको अवस्था कस्तो ?
मेरो अवस्था गम्भीर छ दाई । खासगरी टाउको दुख्छ । सास फेर्न पनि अप्ठ्यारो भइरहेको छ । तातो पानी खाएर बसेको छु । विगत ४ दिनदेखि खाना पनि केही रुच्दैन ।
ज्वरो पनि एकमदै आएको छ ?
ज्वरो आएको छ । घाँटी पोल्छ । टाउको पोल्छ ।
अहिलेसम्म तपार्इंंलाई कुनै डाक्टरले आएर उपचार गरेको छैन ?
एम्बुलेन्स आएर धड्कन चेक गर्न अनि ठिकै छ भनेर जान्छ ।
त्यसोभए तपार्इंंलाई अहिलेसम्म कुनै उपचार गरिएको छैन ?
केही उपचार गरिएकै छैन दाइ ।
नेपाल सरकारसँग तपार्इंंको माग के छ त ?
म प्रधानमन्त्रीज्यूलाई भन्न चाहान्छु । कि मलाई नेपाल आउने व्यवस्था मिलाइदिनुपर्यो । नभए यही भएपनि हस्पताल जान पाए म बाँच्न सक्ने थिएँ ।
अरु तपार्इंंजस्ता कति संक्रमित छन् ?
अर्को एकजना नेपाली पनि छन् । यतापट्टि म एक्लै हो ।
त्यसोभए दुबई सरकारले उपचार गरेको छैन ?
मलाई चाहीं छुट्टै रुममा राखेको छ । उपचार भएको छैन ।
नेपाली जनसमुदाय र राजदूतावास कसैले सहयोग गरेको छैन ?
नेपाली दूतावासलाईं फोन गरेको ३ दिन भइसक्यो । आज आउँछु, भोलि आउँछु भन्छन् तर कोही आउँदैनन् ।
तपाईंको घरपरिवारसँग कुरा हुन्छ ?
कुरा त हुन्छ तर म ठिकैछु, ठिकैछु भन्ने गरेको छु ।
तपाईंलाई आर्थिक अवस्था के छ ?
मसँग अहिले त पैसा छ ।
नेपाल सरकार, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई के भन्न चाहनुहुन्छ ?
म प्रधानमन्त्री केपी शर्मा ओलीजी, स्वास्थ्यमन्त्री र नेपाल सरकारलाई भन्न चाहन्छु, ‘मलाई नेपाल लगेर उपचार गराइदिन्स्’ त्यतिभए बाँच्नेथिएँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot