Logo

अफगानिस्तानमा सुरक्षाकर्मी र तालिबानी लडाकू समूहबीच झडप, ९ तालिबानीको मृत्यु



३ जेठ । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियामा शनिबारमा सुरक्षा अधिकारीहरु र तालिबानी लडाकू समूहबीच भएको झडपमा कम्ती नौ तालिबान आतङ्ककारी मारिएका छन् ।यस झडपको क्रममा २ सैनिक र पाँच आतङ्ककारी घाइते भएका सैनिक स्रोतले पुष्टि गरेको छ । पानीको बाँधको सुरक्षार्थ रहेका अफगान सुरक्षाकर्मीमाथि तालिबान सशस्त्र समूहका सदस्यले आक्रमण गरेका बताइएको छ ।

पूर्वी पाक्टिया प्रान्तको सैयद करम जिल्लामा रहेको मचाल्घोमा खानेपानीको बाँधको सुरक्षामा रहेका चौकीमा सशस्त्र आतंककारीहरूले हमला गरेका थिए । त्यस क्रममा सुरक्षा बलले आक्रमणकारीको हमलाको जवाफी कारबाही गरेको र सोही कारबाहीमा नौ जना तालिबान आतङ्ककारी मारिएका अफगान सेनाको स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका हुन् ।

घाइते सुरक्षाबलका दुई सदस्यलाई सेनाको शिविरको अस्पतालमा लगिएको थियो । नजिकैको पहाडबाट आएर तालिबान आतङ्कककारी समूहले सुरक्षाबलमाथी हमला गरेको बताइएको छ ।गत बिहीबार पनि प्रान्तीय राजधानी गार्डेज सहरमा तालिबानीको आत्मघाती ट्रक बम बिष्फोटनमा ५ जना नागरिक मारिएका र ४५ जना सर्वसाधारण घाइते भएका थिए । तालिबानी आतङ्कवादी समूहले हालसम्म उक्त प्रतिवेदनमा टिप्पणी गरेका छैनन् । तर पनि यहाँको सेनाले भने यो हमलामा तालिबानकै हात रहेको जनाएको छ ।

कतारको दोहामा संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि र संयुक्त राष्ट्रसंघले जारी गरेको संयुक्त घोषणापत्रपछि पनि अफगानिस्तानमा तालिबानीको नेतृत्वमा हिंसा जारी रहेको बताइएको छ ।

तीन दिनमात्र अघि पनि तालिबानहरुकै अगुवाईमा काबुलको एक प्रसुती अस्पतालमा हमला भएको थियो । त्यसमा परी बालबालिका र महिलासमेत गरी २४ जनाको ज्यान गएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot