Logo

नेपालीको जमिन भारतमा पुगेकाले काँडेतार लगाएः अध्यक्ष लामा



काठमाडौं, जेठ ४ । भारतसँगको सिमानाका काँडेतार लगाएर चर्चामा आएका पर्साका वडाध्यक्षले नेपालीको जमिन भारतमा पुगेकाले काँडेतार लगाउनु परेको बताएका छन् ।

पर्साको ठोरी गाउँपालिका वडा नंं ६ का वडा अध्यक्ष सुर्य लामाले नेपालले लालपुर्जा दिएपनि धेरै नेपालीको जग्गा भारतमा पुगेको दावी गरेका छन् ।

दिनप्रतिदिन भारतीय पक्षले जग्गा मिच्दै नेपाल तर्फ छिरेकाले त्यसलाई नियन्त्रण गर्न काडेतार लगाउनु परेको उनले बताए।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले भने, “सिमानाका नेपालीको धेरै समस्या छ, उनीहरुको जिउ र धन सम्पत्तिको रक्षाका लागि स्थानीय जनप्रतिनिधिको हैसियतले मैले यो पहल गरेको हुँ ।”

उनले स्थानीय बासिन्दाको माग र सहयोगमा नै आफुले सिमानाका दशगजा छाडेर काँडेतार लगाउने काम गरेको पनि बताए ।

भारतीय क्षेत्रबाट जंगली जनावरहरु आएर नेपालीहरु असुरक्षित भएको भन्दै नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीलाई सहमत गराएर नै आफुले तार लगाएको उनको भनाई छ ।

सिमा क्षेत्रका नेपालीको समस्याका बारेमा अन्य नेता तथा सांसदहरु मौन रहेको बारेमा वडाध्यक्ष लामाले भने, “उहाँहरुले किन चासो देखाउनु भएको छैन, भगवान जानुन् ।”



प्रतिक्रिया दिनुहोस्