Logo

‘घाँटी पोल्यो भन्दा भन्दै अस्पतालको गेट छिर्दा प्राण गयो’ (अडियोसहित)



रिपोटर्स नेपाल, ५ जेठ । ‘घाँटी पोल्यो भन्दा भन्दै अस्पतालको गेट छिर्नेवित्तिके उनको प्राण गयो,’ १० दिनकी सुत्केरी पत्नीको अन्तिम क्षणबारे उनका पतिले भने । २४ वैशाखमा बच्चा जन्मिएपछि भोलिपल्ट खुशीसाथ गाउँ गएका थिए तिमिल्सिना परिवार ।

यसअघि छोरा जन्मिइसकेको थियो । दुई सन्तान इश्वरको बरदान ठानेर तीनबाट चार भएको परिवार बाह्रबिसेको ठोटनेरी पुगेको थियो । गोंगबुमा तरकारी व्यवसाय गर्ने उनीहरु बच्चा जन्मिएपछि केही समय गाउँमै बस्ने योजनासाथ पुगेका थिए । तर, चीसो लाग्यो भन्दा भन्दै २९ वर्षीया सुत्केरीमा कोभिड १९ लागिसकेको मृत्यु भएपछि मात्र पत्ता लाग्यो ।

२ वैशाखको राति गाउँबाट एम्बुलेन्स डाकेर आकस्मिक रुपमा पत्नीलाई सासु र बहिनीसहित अस्पताल दौडाएका थिए तिमिल्सिनाले । ऋषि धमलासँग रेडियो एनआरएनमा उनले भने, ‘श्वासप्रश्वासमा निकै समस्या भएपछि बल्लबल्ल एम्बुलेन्स व्यवस्था गरेर अस्पताल दौडाइयो ।’

बाटोमा श्रीमतीलाई निकै गाह्रो भएको धुलिखेल अस्पतालको आइशोलेशन वार्डबाट टेलिफोनमा भने, ‘मलाई घाँटी पोल्यो गाह्रो भयो भन्दैथिइन् ।’ अस्पताल आउने लाग्यो भन्दै उनीहरुले सम्झाइरहेका थिए । तर, अस्पताल भित्र छिर्न नपाईं मृत्यु भयो । श्रीमती तिमिल्सिनाको बोली बन्द भइसकेको थियो । उनका पति भन्छन्, मलाई गाह्रो भयो, घाँटी एकदमै पोल्यो भन्दा भन्दै अस्पताल छिर्नुपनि मृत्यु भइसकेको रहेछ ।

पत्नीलाई कसरी कोरोना भाइरसको संक्रमण भयो भन्नेमा अचम्मित भएको सुनाए । तरकारी पसल बच्चा जन्मनुभन्दा एक महिना अघि देखि बन्द भएको उनको भनाई छ । त्यसपछि अस्पताल आउँदा पनि हिंडेरै आएको बताए । उनले भने, अस्पताल नजिकै भएकाले हिंडेरै आउने जाने गथ्र्यौं ।

गाउँ गएपछि परिवार र नजिकका आफन्तबाहेक कसैसँग सम्पर्क नभएको बताए । उनले भने, ‘कसरी यस्तो भयो म आफै आश्चर्यमा छु ।
मृतक महिलाको बच्चा आज १३ दिनको भएको छ । बच्चालाई आइशोलेशनमा राखिएको छ ।’ तिमिल्सिनाका अनुसार लेक्टोजिन खुवाएर राखेको जानकारी छ तर भेट्न दिइएको छैन । उनको यसअघि जन्मिएको छोरा पनि छ ।

मृतक महिलाको दुई सन्तानले आमा गुमाएका छन् । १० दिनको शिशुले आमा गुमाउनुले तिमिल्सिना परिवारलाई बज्रपात परेको छ ।
महिला को मृत्यु हुँदा १० दिनकी सुत्केरी थिइन् । उनले २३ वैशाखमा भर्ना भएर २४ वैशाखमा त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन् । बच्चालाई नर्मल जन्म दिएको भोलिपल्ट अस्पतालबाट डिस्चार्ज भई घर फर्किएकी थिइन् । तिमिल्सिनाले भने, ‘आमा र बच्चाको स्वास्थ्य राम्रो छ भनेर बच्चा जन्मिएको भोलिपल्टै डिस्चार्ज गरिएको थियो ।’ उनले दुःखद घटनाबाट आफू अचम्मित भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot