Logo

अब प्रदेश सीमानाकामै सबैको आरडिटी हुन्छ : मन्त्री रावल



काठमाडौँ, ७ जेठ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकको प्रदेश सीमानाकामै अनिवार्यरूपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण र आरडिटी परीक्षण गरिने बताएका छन् । आरडिटीपश्चात स्थानीय तहले अनिवार्यरूपमा क्वारेन्टिनमा राख्ने, क्वारेन्टिन अवधि पूरा भएपछि अनिवार्य पिसीआर विधिद्वारा स्वाब परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात सङ्क्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टिनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको उनले जनाएका छन् ।

कोरोना भाइरसले विश्व मानव समुदायमा शताब्दीकै ठूलो सङ्कट सिर्जना गरेको बताउँदै उनले यो सङ्कटबाट हाम्रो देश र प्रदेश पनि अछुतो नरहेकाले सरकार उच्च सतर्कता र गम्भीरताका साथ लागिरहेको उनले विश्वास दिलाएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, “कोरोनाको रोकथाम, नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि शुरुदेखि नै कर्णाली प्रदेश सरकार आफ्ना सबै स्रोत साधनको परिचालनसहित लागिरहेको छ । प्रदेशलाई कोरोना सङ्क्रमणबाट बचाउन खोज्दा पनि दैलेख आठबीस नगरपालिका–१ साततलाका ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टिको घटनाले सरकारलाई दुखित् तुल्याएको छ ।”

यो घटनाले दुःखी बनाएको भन्दै मन्त्री रावलले छिमेकी मुलुक भारतबाट आई क्वारेन्टिनमा राखिएका व्यक्तिमा सङ्क्रमण देखिएको तर ती व्यक्ति समुदायमा प्रवेश गरी नसकेकाले यस घटनाबाट भयभित एवं त्रसित नहुन, थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र सावधानीका उपाय अवलम्बन गर्न सङ्क्रमित व्यक्ति, परिवारसहित समग्र कर्णालीवासीमा अनुरोध गरेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्