Logo

चोरी निकासी रोक्ने वन र निकुञ्जमा सुरक्षाकर्मीको गस्ती



काठमाडौँ, ७ जेठ । कोरोना भाइरसको जोखिमबाट जोगिन र जोगाउन यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि डोल्पाका पाटनमा सुरक्षाकर्मीले गस्ती शुरु गरेका छन् ।

सामुदायिक वन समूहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गस्ती गरिररहेका छन् । यार्सागुम्बालगायतका अन्य बहुमूल्य जडिबुटीको चोरी निकासी रोक्नका लागि युद्धस्तरमा गएर गस्ती शुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । हप्ता दिनअघि यार्सागुम्बा चोरीका लागि उपल्लो डोल्पामा केही व्यक्ति फेला परेपछि गस्ती कार्यलाई थप कडाइ गरिएको छ ।

जाजरकोट, डोल्पा, रुकुमपश्चिम र जुम्लालगायतका जिल्लाका स्थानीयवासी डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि डोल्पा जाने गरेका थिए । यार्सागुम्बा रोक लगाएसँगै यहाँका सबै स्थानीयवासी रोकिएका छन् । कोरोना भाइरसका कारण पहिलोपटक बन्द गरिएका डोल्पाका यार्सा पाटनमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरी सबै नाकासमेत बन्द गरिएको छ । बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसले लुकीछिपी चोरी गर्ने भएकाले रोक्नका लागि पाटनमै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको क्याम्प राखिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्