Logo

कोभिड-१९ को भ्याक्सिन बनेपनि अमेरिका या चीनको रणनीतिक अस्त्र हुनसक्ने



रिपोर्टर्स नेपाल, ७ जेठ । कोभिड-१९ को भ्याक्सिन सँसारका विकसित देशहरुले निर्माण गरिरहेका छन् । विश्वका शक्तिशाली देशहरुबीच भ्याक्सिन विकासको प्रतिष्पर्धा नै चलेको छ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ५० लाख नाघिसक्दा यसविरुद्धको भ्याक्सिन विकासले गति लिइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सँसारभर ११८ वटा कोभिड १९ को भ्याक्सिन विकासका प्रतिष्पर्धी छन् । जसमध्ये ८ वटा क्लिनिकल परीक्षणका चरणमा छन् । यसरी क्लिनिकल परीक्षणको चरणमा पुगेकाहरुमध्ये अमेरिका, चीन, बेलायत, जर्मनी, दक्षिण कोरियाका कम्पनिहरु रहेका छन् । जसमध्ये चीनको चारवटा कम्पनिहरु छन् । केही अमेरिकी कम्पनिले अन्य देशका कम्पनिसँग संयुक्त रुपमा भ्याक्सिनको विकास गरिरहेको छ ।

अमेरिकी कम्पनि मोर्डनाले पहिलो चरणको परीक्षण सफल भएको घोषणा गरेको छ । उसले दोस्रो चरणको परीक्षण अगाडि बढाइसकेको छ । चिनियाँ कम्पनिहरु पनि सफलतातर्फ बढिरहेका छन् ।

अमेरिका र चीनका कम्पनिहरुले यसै वर्षको अन्तसम्ममा कोभिड १९ को भ्याक्सिन विकास गरी जनवरीभित्र प्रयोगमा ल्याउने योजना अनुसार काम गरिरहेका छन् । तर, भ्याक्सिन सँसारभर सहज तरिकाले उपलब्ध हुनेमा धेरैको आशंका छ ।

अमेरिका, चीन, भारत र युरोपेली देशहरुबीच कोरोनाको कहरमै तिव्र आर्थिक तथा शक्तिको प्रतिष्पर्धा चलिरहेको छ । कोभिड १९ को भ्याक्सिन बनेमा यसैलाई उनीहरुले रणनीतिक अस्त्रका रुपमा प्रयोग गर्न सक्ने आशंका बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ को भ्याक्सिनलाई रणनीतिक सम्पत्तिका रुपमा प्रयोग गर्ने भनिसकेका छन् । यसको अर्थ अमेरिकाले आफ्नो मित्रशक्तिलाई मात्र भ्याक्सिन सहज तरिकाले उपलब्ध गराउनसक्छ ।

चीनको ध्यान पनि भ्याक्सिनलाई रणनीतिक अस्त्र बनाउने देखिन्छ । उसले अफ्रिकामा बढी ध्यान दिइरहेको छ । चीनले कोरोना भाइरस रोकथाममा प्रयोग भएका स्वास्थ्य सामाग्री निर्यातबाट अरबौं डलर आर्जन गरिरहेको छ । उसले सामाग्री अनुदान दिएर आफ्नो प्रभाव अफ्रिका, एशिया र युरोपका केही देशहरुमा पनि बढाइरहेको छ ।

अमेरिका र चीनको कोभिड १९ को भ्याक्सिन विकास गरी रणनीतिक र आर्थिक स्वार्थ लिने उद्देश्यले सँसारमा महामारी नै व्यापार बन्ने खतरा बढेको छ । यसले बलिया देशहरुप्रति अन्य देशको दृष्टिकोणमा निकै नकारात्मक धारणा विकास हुनसक्छ । सँसार महामारीमा हुँदा पनि बलिया देश नाफा र घाटाकै हरहिसाब गरिरहेको घटनाक्रमले देखाउँदै लगेको छ । यतिसम्मकी अमेरिका र चीन कोरोना महामारीलाई शक्तिशाली बन्ने अवसरका रुपमा लिन खोजिरहेको उनीहरुको आरोप प्रत्यारोपबाट बुझ्न सकिन्छ ।- एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot