Logo

बन्दाबन्दीको पालना नहुनाले जोखिम बढ्दै



काठमाडौँ, ८ जेठ । यस प्रदेशको आठवटै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि जोखिम बढेको छ ।

यतिबेला सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गरी जोखिमलाई कम गर्नुपर्नेमा यसको पालना राम्रोसँग नहुनाले पनि प्रदेशमा जोखिम बढ्दै गएको सम्बद्ध व्यक्तिहरूकोे भनाइ छ । लहान समाचारदाता जिवछ यादवका अनुसार बन्दाबन्दीको पूर्ण पालना नहुनाले सिरहाका सरोकारवाला निकायबाट चिन्ता व्यक्त गर्न थालिएको छ । लहान स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादव देशकै सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा समेत बन्दाबन्दीको पूर्ण पालना नभएको बताएका छन् ।

प्रहरी गाडी आएपछि घरभित्र जाने अरूबेला हेलचक्र्याइँ गर्ने, साँझबिहान चिया पसल, मदिरा पसल र चोकमा गफ गरेर बस्नेहरूको भीडभाडले कोरोना सङ्क्रमित हुनसक्ने जोखिम बढ्दै जान थालेको बताइन्छ । लहान २ नम्बर वडाका वडाध्यक्ष सियाराम यादव बन्दाबन्दीको मर्मविपरीत गतिविधि रोक्न गरिरहेको प्रयास पनि सफल हुन नसकिरहेकाले यस्तो अवस्थामा सङ्क्रमित फैलियो भने अवस्था भयावह हुनसक्ने बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्