Logo

मस्जिदमा गुञ्जन छाडे अजानको धुन



काठमाडौँ, ८ जेठ । रुपन्देहीकोे ओमसतिया गाउँपालिका वडा नं ४ बस्ने ताहिर अली अहिले घरभित्रै नमाज पढ्न बाध्य भएको छ । घर नजीकको असर्फी जामे मस्जिदमा दिनको पाँच पटकसम्म नमाज पढ्ने अलीको परिवारले अहिले घरमा नै नमाज पढ्ने गरेको छ ।

बाह्र वर्षका उमेरदेखि सधैँ मस्जिदमा गएर नमाज पढ्ने उनी अहिले ५८ वर्षको भयो । अली मात्र नभएर उनका छिमेकी अलिजान मुसलवानको परिवारले पनि बन्दाबन्दीका कारण मस्जिद जान छाडेर घरमा नमाज पढ्ने गरेको छ । इस्लाम धर्मावलम्बी दिनको पाँच पटक मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्ने गर्छन् । बिहान ४ः३० बजे, अपराह्न १ः३० बजे र ५ः०० बजे, सूर्यास्तपछि र सूर्यास्तको दुई घण्टापछि नमाज पढ्ने प्रचलन भएको अलिजानले बताएका छन् ।

गत वैशाख १३ गते देखि शुरु भएको रमजानमा रोजा बसेर मस्जिदमा गएर नमाज पढ्दा बढी पुण्य पाइने धार्मिक विश्वास भए पनि बन्दाबन्दीले मस्जिद जान रोकिएको मुसलमान समुदायका अगुवा बताउँछन् । इस्लाम धर्मग्रन्थ कुरआनका अनुसार रमजानका बेलामा घरमा नमाज पढ्दा एक प्रतिशत पुण्य पाइन्छ भने मस्जिदमा पुगेर नमाज पढ्दा ७० गुणा बढी पुण्य पाइन्छ भन्ने चलन रहेको अलीले बताएका छन् ।

अरु समयभन्दा पनि रमजानका समयमा मस्जिदमा पुगेर नमाज पढ्नेहरुको सङ्ख्या धेरै हुने गरे पनि अहिले यो बन्द भएको छ । बन्दाबन्दी भएपछि जिल्लामा रहेका १८० भन्दा बढी मस्जिदमा नमाज पढ्न सूचना दिने अजानको धुनसमेत बज्न छाडेको छ । मस्जिदमा बज्ने अजानको धुन बस्तीबस्तीमा पुगेपछि नमाज पढ्ने प्रचलन भए पनि अहिले आफँै समय हेरेर नमाज पढ्ने गरिएको मुसलमान धर्मावलम्बी बताउँछन् । मुसलमान समुदायमा पुरुषले मस्जिदमा गएर नमाज पढ्ने चलन छ भने महिला घरमा नै नमाज पढ्ने गर्छन् । मस्जिदमा पुगेर नमाज पढ्न नसक्ने र नभ्याउने पुरुषले अजानको धुन बजेपछि आफू जुन स्थानमा रहेका छन् त्यहीँ नमाज पढ्नुपर्ने चलन रहेको उनीहरु बताउँछन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot