Logo

‘कोरोनो सङ्क्रमण भएको ठानेर समाज,आफन्तले नै छिःछिः दुर्दुर गर्छन्’



काठमाडौँ, १० जेठ । जिल्ला प्रशासन कार्यालयमा नायव सुब्बा पदमा कार्यरत गोविन्दप्रसाद कोइरालालाई कोरोना भाइरसको सङ्क्रमण तथा जोखिमबाट यतिखेर अरू व्यक्ति भन्दा आफूलाई निकै सुरक्षित महसुस भएको छ ।

चार दिनअघि आरडीटी परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि आत्तिनु भएका कोइरालालाई पीसीआर विधिबाट गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि यतिखेर अरू भन्दा सुरक्षित महसुस भएको हो । उनले भने, ‘आरडीटी टेष्ट गर्दा नजिता पोजेटिभ आउँदा एकपल्ट त सार्लाकसुर्लक्कै भएर जिरोमा नै आइयो । सामाजिक व्यावहारमा साथीहरूमा आएको परिवर्तन देख्दाचाहिँ तनाव
हुँदो रहेछ ।’

‘अहिले पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएपछि बरु हामीचाहिँ अरूभन्दा सुरक्षित छौँ,’ उनले थपे, ‘पीसीआर विधिबाट स्वाब परीक्षणको नतिजा नआउन्जेल छुट्टै घरमा व्यवस्थित क्वारेन्टीन बनाएर तीन दिन बसेँ म । अरू साथीलाई पुरानो सिडियो कार्यालयमा क्वारेन्टाइन बनाएर राखे ।’ सामाजिक रूपमा मानिसले हेर्ने दृष्टिकोण ज्यादै फरक भएको महशुस भएको उनले सुनाएका छन् ।

उनीसँगै सिन्धुली अस्पतालमा सोमबारबाट तीन दिनसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि गरी २१३ जनाको आरडीटी परीक्षण गर्दा २७ जनाको नतिजा पोजेटिभ आएको थियो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्