Logo

नेपाल आक्रामक भएपछि भारतका नेताहरुले भन्न थाले ‘वार्ता गरौँ’



काठमाडौं, जेठ १० । नेपाल भारत सीमा विवाद समाधानका लागि वार्तामा आउन पटक–पटक गरिएको आग्रह लत्याएको भारत अब वार्ताका लागि तयार रहेको त्यहाँका राजनीतिज्ञहरु बताउन थालेका छन् ।

कालापानी लिपुलेक र लिम्पियाधुरासहितका भूभागमा देखिएको विवाद वार्ता र संवादबाट समाधान गर्न नेपालले गरेको आग्रह भारतले वर्षौँदेखि नकार्दै आएको थियो । तर जब नेपाल सरकारले भारतद्वारा अतिक्रमित ति भूभागहरु समेटेर नेपालको नयाँ नक्सा जारी ग¥यो तब भारतीय राजनीतिज्ञहरुले पनि वार्ताका लागि आग्रह गरिरहेका छन् ।

भारतको सत्तारढ दल भारतीय जनता पार्टीका एक प्रभावशाली नेना विजय जोलीले वार्ता र संवादबाटै मात्रै सीमा विवादको समाधानको विन्दुमा पुग्न सकिने बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंगको अन्र्तवार्ताको क्रममा जोलीले भारतले आफ्नो सुरक्षाका लागि कालापानीमा सेना राखेको बताउँदै यसमा कुनै समस्या भए वार्ताबाट मात्रै समाधान खोज्न सकिने बताए। तर लिपुलेक कालापानी र लिम्पियाधुरासहितका क्षेत्र नेपालले आफ्नो नक्सामा समेट्नु कृतिम दाबी मात्रै रहेको भाजपाका नेता जोलीको जिकिर छ ।

भारतले नेपाललाई जहिले पनि आफू समान हैसियत प्रदान गरेको नेता जोलीले बताए । उनले नेपाल भारत सम्बन्धलाई मजबुत बनाउन भारत कालापानीको कुनै एक भूभागका लागि लडाई गर्ने पक्षमा नरहेको जनाए । कालापानी विवादको प्रसंगमा नेता जोलीले उहाँकै शब्दमा हामी एक लिपुलेक त के सयौँ लिपुलेक नेपाललाई दिन सक्ने बताए ।

अन्तर्वार्ताका क्रममा जोलीले सीमा विवाद समाधानका लागि भारत नेपालसँग वार्तामा बस्न तयार रहेको पटक–पटक दोहो¥याएका छन् । तर अहिले नेपालमा भइरहेको भारत विरोधी गतिविधिमा चीनको इसारामा भइरहेको उनको आरोप छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले नेपाल कुनै विदेशी मुलुकको इशारामा नाच्ने हैसियतमा अहिले नरहेको प्रष्ट पारेका छन् । नेपालको संविधान अनुसार वर्तमान सरकार गठन भएको उल्लेख गर्दै भट्टराईले मिथ्या आरोप लगाउनु खेदजनक विषय रहेको उनको भनाई छ ।

ड भट्टराईले अहिले पनि सीमा विवादबारे वार्ता र संवादकै बाटोबाट अघि बढ्न नेपाल तयार रहेको बताए । उनले त्यसका लागि भारतसँग अनौपचारिक रुपमा कुराकानीहरु भइरहेको जानकारी दिए ।

यस्तै प्रमुख विपक्षी दलका नेता नारायण खड्काले पनि वार्ताबाटै विवाद समाधान गरिनु उत्तम हुने बताए । भारतले कोरोनाका कारणले तत्काल वार्ता गर्न नसकिने बताइरहेको सुन्नमा आएको बताउदै उनले जुन कुनै बहानामा पनि वार्तालाई धकेल्ने प्रयास हुन नहुने जनाए । भारतले चीनको इशारामा नेपाल सरकार उक्सेको आरोपको विपक्षी दलका नेता खड्काले पनि खण्डन गरे । राष्ट्रियताका सवालमा नेपाल एकतावद्ध रहेको भारतले बुझ्नपर्ने उनको भनाई छ ।

‘हिजो नेपालले पटक–पटक गरेको आग्रह लत्याउने भारतले पनि अहिले वार्ताका लागि केही लचकता देखाएको संकेतहरु मिलेका छन् । सरकारले यो बेला तथ्य र प्रमाणहरुका आधारमा नेपाली भूमिको रक्षा गर्न कुनै कसर बाँकी राख्न हुँदैन । भारतले लगाउँदै आएको चीनको इशारामा नेपाल नाचेको आरोपलाई पनि नेपाल सरकारले सत्यतथ्यका आधारमा खण्डन गर्नुपर्छ ।’ उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot