काठमाडौँ, १० जेठ । जिल्लाको त्रिवेणी नगरपालिकाले थप ६०० श्ययाको क्वारेन्टिन बनाउने भएको छ ।
यसअघि ३०० श्ययाको क्वारेन्टिन निर्माण गरिएको भए पनि शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले थप ३०० गरी ६०० श्ययाको क्वारेन्टिन बनाउने निर्णय गरेको नगरपालिकाका सदस्य तथा वडा नं ३ का वडाध्यक्ष मीन भण्डारीले बताएका छन् ।
भारतले नाका खुकुलो बनाउन थालेपछि नगरपालिकाले भारतबाट आउने र नेपालकै विभिन्न शहरबाट आउनेका लागि छुट्टाछुट्टै क्वारेन्टिन निर्माण गर्ने निर्णय गरिएको वडाध्यक्ष भण्डारीले बताएका छन् । नगर कार्यपालिकाको बैठकले साविकाको छतारा, तोली र कैलाशमाण्डौ गाउँ विकास समितिमा रहेका स्वास्थ्यचौकीमा भवन पर्याप्त नभएकाले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको नगरपालिका–७ का वडाध्यक्ष तथा नगर प्रवक्ता प्रेम थापाले जानकारी दिएका छन् ।
उनले दिएको जानकारीअनुसार नगरपालिकाको साविकको छतारामा २००, तोलीमा २०० र कैलाशमाण्डौमा २०० श्ययाको क्वारेन्टिन बनाउने बताएका छन् । नगरपालिकाका साविकका तीनवटै स्वास्थ्य संस्थामा भवन पर्याप्त नभएका कारण बन्दाबन्दीको समयमा विद्यालयलाई क्वारेन्टिनका रूपमा प्रयोग गर्ने निर्णयानुसार क्वारेन्टिन निर्माण गरिएको नगरप्रमुख रामसिं रावलले बताएका छन् ।
(रासस)