Logo

कोरोना महामारीमा पनि अमेरिका उड्न आतुर



काठमाडौंस्थित अमेरिकी दूतावासको आग्रहमा प्रेसिडेन्ट ट्राभलले भोलि आइतबार ३ सय २० जनालाई अमेरिका उडाउँदैछ । त्यस्तो उडान गर्नुपूर्व भीसा लागेर काठमाडौंमै अड्किरहेका यात्रुका नाममा ट्राभलले सूचना जारी गर्यो, ‘जान चाहनेले ईफर्ममार्फत सूचित गराउनुहोला’ भनेर । यसक्रममा हजारौँ नेपालीले त्यस्तो फर्म भरे ।

कतिपय यात्रु अमेरिकी दूतावासमार्फत जहाज आउने र लैजाने कुरा चाल पाएर ताँती लागे । त्यसपछि दूतावासले प्राथमिकता क्रम तोकेर मापदण्ड बनायो । मापदण्डअनुसार, पहिलो प्राथमिकतामा अमेरिकी नागरिक, दोस्रोमा त्यहाँको आप्रवासन सुविधा (ग्रीनकार्ड) प्राप्त व्यक्ति र तेस्रोमा मात्र भिसा लागेका आमनागरिक परेका छन् ।

यस्तो गर्दा पनि अमेरिकी नागरिक र ग्रीन कार्ड पाएका मानिसको संख्या ३ सय २० पुगेन । त्यसपछि पालो आयो, भिसा लागेका आमनागरिकको । संकटको बेला आयआर्जन गर्न नखोज्ने त को होलान् र ?

कल्पना ढकाल नामकी यात्रु आफूलाई ट्राभलले आश्वासन दिएर पनि अमेरिका उडाउन नचाहेको भन्दै दूतावासमा उजुर गर्न पुगिन् । दूतावासले भन्यो, ‘तपाईं प्रशासनिक समाधान खोज्नुस् ।’

ढकाल पुगिन्, प्रहरी हेडक्वार्टरमा । हेडक्वार्टरले प्रेसिडेन्ट ट्राभलकी एकजना टिकट अफिसरलाई सोध्यो । जवाफ दिइन्, ‘हामीले एयरक्राफ्ट मात्र व्यवस्थापन गरेका हौँ, को–को लैजानेचाहिँ दूतावासले टुंगो लगाउने हो ।’

अर्थात्, ढकाल परिवारका दुई यात्रु दूतावासको प्राथमिकतामा परेनन् । किनभने, उनीहरु न अमेरिकी नागरिक, न आप्रवासन सुविधाप्राप्त नै हुन् । अमेरिका उड्नुको कारण हो, छोराछोरीले बोलाएका । यो वास्तविकतासँग दूतावास हैन, ट्राभल सम्बन्धित थियो । उसले तोकेको अतिरिक्त टिकट मूल्य तिर्नेका लागि उडान सहज छ । ढकाल परिवारले चाहिँ ट्राभलले भनेको पैसा तिरेर हैन, पुलिस लगाएका कारण भोलि उड्ने टिकट पाए । तर, अरु थुप्रै यात्रु अलपत्र छन् ।

तर, ढकाल परिवारजस्तै अर्का एकजना पीडितले जनआस्थालाई सुनाए, ‘दूतावासलाई चाहिएको सीटबाट बाँकी रहेको सीटमा अरु यात्रु लगिँदैछ । त्यसरी लगिने यात्रुसँग जहाज भाडाका नाममा दोब्बर रकम लिइएको छ । दोब्बर रकम दिन नचाहनेको नाम दूतावासबाट काटियो भन्दै ट्राभल पन्छिने काम गर्दैैैछ ।’

ती पीडितका अनुसार, फर्म भरेर पनि जान नपाएका पीडितहरु जिल्ला प्रशासनमा उजुर गर्न पुगे तर मूलगेटबाटै फर्काइयो । भनियो, ‘कर्मचारीहरु कोही हुनुुहुन्न, पासबाहेक अरु कुनै काम लिएर नआउनु होला ।’

‘हामीसँग उजुर गर्ने र छानवीन गरियोस् भन्ने ठाउँ पनि भएन’, ती पीडितले सुनाए । यसबारे बुझ्न जनआस्थाले प्रेसिडेन्ट ट्राभलसँग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आएनन् ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot