Logo

मोदीले नेपालमा ‘योगी कार्ड’ प्रयोग गरे के होला ?



काठमाडौं, १२ जेठ । नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेकको भुभाग विवाद उत्कर्षमा पुगेको छ । नेपालले यी भु-भाग समावेश गरी नयाँ नक्शा जारी गरिसकेको छ । तर, यी घटनाक्रम विकास भइरहँदा नयाँ दिल्लीमा नेपाल मामलामा त्रुटीहरुबारे तात्ततातो बहस चलेको छ ।

भारतले सेनापति एम एम नरवाणेमार्फत् लिपुलेक हुँदै चीनसँग जोडिएको लिंकरोडप्रति नेपालको आपत्तीप्रति कसैको उक्साहट भनी चीनतर्फ संकेत गरिसकेका छन् । चीनसँग भारतको सिमामा सैन्य झडप र गतिविधि बढिरहँदा यी घटना विकास भएका हुन् । नरवाणेको अभिव्यक्तिपछि नेपालमा नयाँ नक्शा जारी भएपछि भारतीय पक्ष निकै गम्भीर देखिएको छ ।

अहिले जे जति घटनाहरु विकास भएका छन् त्यसमा भारतले नेपालको वर्तमान सत्ताबारे पनि चासो देखाइरेको छ । अहिले झण्डै दुई तिहाईको कम्युनिस्ट सरकार नेपालमा छ । कम्युनिस्ट शक्तिलाई विगतमा भारतले नै सघाएको विषय भारतका राजनीतिक दलका नेता देखि विद्धानहरुले सार्वजनिक रुपमा बोलिसकेका छन् । यतिसम्मकी तत्कालिन नेकपा माओवादी सशस्त्र गतिविधिमा हुँदा भारतले नै भरनपोषण गरेको अभिव्यक्ति भारतीय सेनाका एकजना पूर्व जर्नेलबाट आएको छ ।

पूर्व जर्नेल गगन दीप बक्सीले माओवादीलाई पालेर हिन्दु राष्ट्र ध्वस्त पार्नु भारतको आत्मघाती गोल थियो भनी टिप्पणी गरेका छन् । उनले एबीपी न्युजसँग भारतले माओवादीलाई नेपालमा स्थापित गराउनुको सजाय भारतले भोगिरहेको सम्म भने । भाजपा प्रवक्ता प्रमोद शुक्लाले पनि कँग्रेस आईको सरकारको पालामा माओवादीलाई उचाल्ने क्रियाकलाप भएको बताए ।

यी अभिव्यक्तिहरु पछि भारत र नेपालमा एउटा शक्ति अहिलेको राजनीतिक प्रणालीमाथि नै चुनौती दिने तयारीमा छ कि भन्ने आशंकाहरु व्यक्त हुन थालेको छ । कम्युनिस्टहरु सत्तामा पुगेर बलियो हुँदा चीन नेपालमा भारतको स्थान लिन सकेको टिप्पणी समेत नभएका होइनन् । जनरल अशोक मेहताले विगतमा भारतको नेपालमा भुमिका रहेकोमा चीनले उक्त स्थान लिइसकेको टिप्पणी गरेका छन् ।

अलग पक्षका थिंक ट्यांक देखि नेताहरुसम्मको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति भन्दा समग्र कम्युनिस्ट पार्टीविरुद्ध देखिनथालेको छ । अब कम्युनिस्टप्रति कठोर बन्नुपर्ने सुझावहरु सम्म भारतीय थिंक ट्यांकहरुले सार्वजनिक रुपमै दिन थालेका छन् ।

भारतमा कम्युनिस्ट शक्ति विरुद्ध ‘योगी कार्ड’ प्रयोग गर्ने विषय समेत आएको छ । मध्यधारको दक्षिणपन्थी पक्षधरको विचारमुलक डिजिटल पत्रिका टिएफआइ पोष्टले मोदीले नेपालमा ‘योगी कार्ड’ प्रयोग गर्ने समय आएको भनेको छ । चिनियाँ स्वार्थमा नेपालमा कम्युनिस्ट बलियो भएको समेत पत्रिकाले उल्लेख गरेको छ ।

योगी कार्ड भनेको नेपालमा हिन्दु राष्ट्र पुर्नस्थापनाको विषय हुनसक्छ । त्यसमा भारतको सहयोग हुन्छ हुँदैन ? सम्भावना र अनुमान नै हुनसक्ला । तर, पछिल्लो राजनीतिक घटनाक्रमले भारत नेपालको कम्युनिस्ट शासकहरु निकै चिढिएको भारतको नीति निर्माण तहमा प्रभाव बनाउन सकेका थिंक ट्यांकको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको मुख्यमन्त्री हुनु र नेपालसँग विशेष प्रकारको सम्बन्ध हुनुले पनि योगीले धार्मिक मुद्दालाई बलियो बनाउन सक्ने सम्भावना छ । मुख्यमन्त्री नहुँदै योगी पशुपतिनाथको विभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनको सामिप्यताका कारण पनि नेपाल मामलामा सक्रिय हुन सजिलै सक्ने देखिन्छ । योगीको नेपालका हिन्दु धर्मगुरु र मठाधीशहरुसँग विशेष सम्बन्ध छ । उनको राजनीतिक सम्बन्ध पनि बलियो छ ।

योगीसँग दिल्लीको पनि धेरै आशा देखिएको छ । नेपालसम्बन्धी जानकार भारतको संस्थापन पक्षका थिंक ट्यांकले आयोजना गरेका सेमिनार पछिल्लो समय लखनऊ र उत्तर प्रदेशका राज्यहरुमा भएका थिए । यो आफैमा गतिलो सन्देश हो ।

योगी मुख्यमन्त्री हुनुअघि नेपाल आएर हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नविचारमा बोलेको इतिहास साक्षी छ । नेपाल मामलामा योगीलाई बढाउनु भनेको राजनीतिक प्रणालीमा समेत फेरबदलका लागि धक्का दिने प्रयास हुनसक्छ । नेपाल मामलामा अब भारतको हिन्दुवादी मानिएको सत्तापक्ष र धर्मनिरपेक्षताका कट्टर पक्षधर कम्युनिस्ट शक्तिबचि सिधा टक्करको सम्भावना बढेर गएको छ । यही टक्करले नयाँ परिस्थिति निर्माण हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot