काठमाडौँ, १२ जेठ । बाँकेमा कोरोना सङ्क्रमण बढ्दै गएपछि परीक्षणका लागि स्वाब सङ्कलनको दायरा बढाइएको छ ।
कोरोना सङ्क्रमण अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । उनका अनुसार आइतबार जिल्लाका चार स्थानबाट १७१ जनाको स्वाब सङ्कलन गरिएको छ ।
डुडुवा, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाबाट स्वाब सङ्कलन गरिएको हो । बाँकेबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको १७५ जनासहित ३४६ जनाको स्वाबको परीक्षण नतिजा आउन बाँकी रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् । बाँकेमा हालसम्म कोरोना परीक्षणका लागि दुई हजार ४ ४० जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ ।
सङ्कलित स्वाबमध्ये एक हजार ९५२ जनाको परीक्षण नतिजा नेगेटिभ तथा १४२ जनाको परीक्षण नतिजा पोजेटिभ देखिएको छ । बाँकेमा हालसम्म एक हजार १४२ जनाको आरडिटी गरिएको छ । आइतबार मात्रै ४४ जनाको आरडिटी गरिएको र नतिजा नेगेटिभ आएको श्रेष्ठको भनाइ छ ।
बाँकेमा एक जनाको ज्यान जाने गरी नेपालगञ्ज उपमहानगरपालिका तथा नरैनापुर, राप्तीसोनारी र खजुरा गाउँपालिकामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट एक जनाको मृत्यु भइसकेको छ भने उपमहानगरपालिकाका २१ जना निको भएर घर फर्किसकेका छन् । (रासस )