Logo

संविधान संशोधनका लागि नेकपा र कांग्रेस सहमत, जनता समाजवादीको छुट्टै माग



जेठ १३, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको अह्वानमा बसेको सर्वदलीय बैठकले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्ने सहमति गरेको छ ।

बालुवाटारमा ३ घण्टासम्म चलेको बैठकमा सहभागि विभिन्न दलका नेताहरुले वार्ता र कूटनीति वार्तामार्फत भारतसँगको नक्सा विवाद समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकराी दिए ।

संविधान संशोधनका लागि प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै केही समय मागेको छ । तर कांग्रेस सभापति शेरवहादुर देउवाले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट पारेका थिए ।

उता समाजवादी र राष्ट्रिय जनता पार्टीले आफ्ना माग पनि समेट्न आग्रह गरेका छन् । बैठकमा मधेशवादी दलका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायतले भने संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि सम्बोधन पनि समेट्न सरकारलाई सुझाव दिएका छन् ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका अरु मागका विषयमा छलफल हुँदै जाने भन्दै अहिले निशान छाप सर्वसम्मत रुपमा संशाोधन गर्नुपर्ने बताएका थिए । सरकारले शुक्रबार दर्ता गरेको संशोधन विधेयक भोलि प्रतिनिधिसभामा पेश गर्ने तयारी छ । त्यसको पूर्वसंध्यामा सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले संशोधन विधेयक विना शर्त सर्वसम्मत रुपमा पास गर्न आग्रह गर्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस्