Logo

सङ्क्रमितसँगै ६०१ जना भारतबाट आएका थिए



काठमाडौँ, १४ जेठ । दैलेखमा कोरोना भाइरसबाट सङ्क्रमितहरू आठजना पुगेका छन् । कोरोना सङ्क्रमित उनीहरू भारतका विभिन्न सहरबाट नेपाल आएका हुन् ।

उनीहरूलाई शुक्रबार नारायण नगरपालिकाले नेपालगञ्जको रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएको थियो । उनीहरूका साथ ६०१ जना आएका थिए । बन्दाबन्दीको समयमा चार हजार बासिन्दा जिल्ला भित्रिएका छन् । जिल्ला प्रशासनले दिएको जानकारीअनुसार दैनिक दुई सयदेखि एक हजारजनासम्म भित्रिने गरेका छन् ।

स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखेका एक हजार तीन सयजनाको आरडीटी परीक्षण र ४८९ जनाको स्वाव सङ्कलन गरिएको जानकारी दिएका छन् । भारत सरकारले रेलसेवा सञ्चालन गरी नेपालका नाकाहरूमा ल्याएर नेपालीलाई छोड्ने रणनीतिका कारण अहिले कर्णालीका स्थानीय तह समस्यामा परेका छन् ।

२० वर्षभन्दा बढी समयदेखि भारतमा परिवारसहित बसेकाहरू समेत नेपाल फर्कन थालेका छन् । नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले कोरोनाको महामारीका कारण भारतबाट धेरै नागरिक आइरहेको बताउँदै उनीहरूको उद्धारसँगै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागेको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्