काठमाडौं, जेठ १४। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नक्सा परिवर्तनका बारेमा काँग्रेसलाई शंका नगर्न आग्रह गरेका छन् ।
सरकारले नक्सा संशोधन गरेकोमा काँग्रेसको पूर्ण समर्थन रहेको र त्यसलाई संविधानमा समावेश गर्नका लागि काँग्रेसले एक मतले साथ दिने उनको भनाई रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा प्रवक्ता शर्माले परिवर्तीत नक्सालाई संविधानमा समावेश गर्नेगरी हुने संविधान संशोधनको प्रस्तावमा काँग्रेसले कुनै सर्त विना मतदान गर्ने स्पष्ट पारे ।
उनले नक्साप्रति काँग्रेसको समर्थनलाई अझ संस्थागत र बलियो बनाउन पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागेको र पार्टीले औपचारिक निर्णय पनि गर्ने जनाए ।
उनले अन्य पार्टीले चाहिँ यसरी संस्थागत निर्णय गरेका छन् की छैनन् बरु त्यति शंका गर्नु पर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।
प्रवक्ता शर्माले सकेसम्म सवैलाई सहमत गराएर गर्नु पर्छ भन्ने मत भने काँग्रेसको रहेकोमा जोड दिए ।
जनता समाजवादी पार्टीले केही सर्तहरु राख्न खोजेको र आफ्ना मागहरुलाई पनि संवोधन गरियोस् भनेकाले त्यसलाई पनि ध्यान दिनु उचित हुने काँग्रेसको सुझाव रहेको शर्माको भनाई छ ।