Logo

१४ दिनमा ५ मृत्युसहित कोरोना संक्रमित ६६३ बढे, महामारीको संकट



काठमाडौं, १५ जेठ । देशमा एकै दिन ११४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जेठ महिनाभर संक्रमित संख्या तेब्बरले बढेको छ । पाँच जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

३१ वैशाखमा विना कसैको मृत्यु २४३ कुल संक्रमित संख्या भएकोमा जेठमा संख्या तीन गुना बढेको हो । हिजो साँझसम्म कोरोना देशभर संक्रमित संख्या ८८७ पुगेको छ । बितेको १४ दिनमा ६४३ कोरोना संक्रमित बढेका छन् । जसमध्ये ५ जनाको मृत्यु भइसकेको छ । जसमध्ये एकजनाको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

कोरोना भाइरसका संक्रमित १४ दिनमा तीन गुना बढ्नु भनेको महामारी भयावह बन्नु हो । यही गतिमा वृद्धि भए आज नै संक्रमित संख्या हजार कट्नसक्छ । जेठभरी हजारौंको संख्यामा संक्रमित हुने खतरा पैदा भएको छ ।

भारतमा रोजगारी तथा अन्य कामले पुगेकाहरु धमाधम फर्किन थालेपछि संक्रमित संख्या बढेको हो । क्वारेन्टाइनमै रोग फैलिएको पत्ता लागेको छ । हिजो थपिएका ११४ जना सबै क्वारेन्टाइनमा रहेकाहरु छन् । देशका ४७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ ।

बाँके, पर्सा, कपिलवस्तु, झापा, रौतहटमा कोरोना भाइरसका संक्रमित निकै बढेका छन् । प्रदेश ५ मा देशका कुल संक्रमितमध्ये ४० प्रतिशत रहेका छन् । संक्रमित बढेपछि राख्ने ठाउँ अभाव हुन थालेको छ ।

सरकारले तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई ल्याउने तयारी थालेको छ । यसले पनि कोरोना भाइरसको संक्रमित बढ्ने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot