Logo

छोरीलाई अँगालो मार्दा आमाछोरी क्वारेन्टाइनमा



काठमाडौँ, १६ जेठ । धनगढीबाट आएकी छोरीलाई अँगालो मार्दा एक महिलाले क्वारेन्टाइनमा बस्न बाध्य भएको छ ।

आफ्नै छोरीलाई माया गर्दा घरमै रहेकी ती महिलाले क्वारेन्टाइनको बास होला भन्ने कल्पनासम्म गरेकी थिइनन् । बसबाट झरेपछि छोरीलाई मायाले अँगालो मार्दा ४१ वर्षीया महिलालाई चौरपाटी गाउँपालिका–६ दुनीको क्वारेन्टाइनमा राखिएको छ ।

माइती घर आएकी छोरीलाई साथमा ल्याउन चौखुट्टे गएकी दुनी निवासी ती महिलाले छोरीलाई छोएको भन्दै क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष मने साउदले जानकारी दिएका छन् । वडा अध्यक्ष साउदका अनुसार धनगढीबाट अरुसँगै बसमा आएकी युवतीलाई मात्र क्वारेन्टाइनमा राख्ने तयारी भए पनि आमाले छोएका कारण कोरोनाको सम्भावित सङ्क्रमणको आशङ्कामा दुवैलाई क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई स्वास्थ्य परीक्षणपश्चात् घर पठाइनेछ । उनीहरूलाई कति दिनसम्म क्वारेन्टाइनमा राख्ने भन्नेमा बैठकपछि निश्चित हुने बताइएको छ । धनगढीमा सुरक्षित रहेकी छोरी बसमा अन्य व्यक्तिसँग आउँदा कोरोना सङ्क्रमण भएको हुनसक्ने भन्दै उनलाई क्वारेन्टाइनमा राख्ने विषय पूर्वनिर्धारित रहेको बताइएको छ । जिल्लाबाहिरबाट अछाम आएका व्यक्तिले कम्तीमा २१ दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको छ ।

गएको वैशाख २४ यता भारतबाट ३०३ जना र जिल्लाबाहिरबाट २३ जना ३२६ जना चौरपाटी गाउँपालिकाका विभिन्न वडामा आएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिएका छन् । तीमध्ये हालसम्म १२ जना क्वारेन्टाइनमा बसेर घर गइसकेको बताइएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot