Logo

माग पूरा नभएको भन्दै त्रिविका आंशिक प्राध्यापकले गरे नपढाउने निर्णय



काठमाडौँ, १९ जेठ । त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरूले आफूहरूले पढाएको पारिश्रमिक नपाएको भन्दै आइतबारदेखि विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् ।

लामो समयदेखि पारिश्रमिक नपाएको तथा बन्दाबन्दीको समयावधिको शैक्षिक भत्ता नपाएसम्म आफूहरू अध्यापनमा नफर्कने उनीहरूले अडान लिएका छन् । नेपाल आंशिक प्राध्यापक सङ्घका अध्यक्ष डा. महेशकुमार गजुरेल, महासचिव केशव चन्द र पारिश्रमिक लगायत भत्ता प्राप्ति अभियानका संयोजक नरेन्द्रप्रसाद भण्डारीले संयुक्त विज्ञप्ति जारी गरी विश्वविद्यालयको आंशिक प्राध्यापकका लागि यसअघि भएका सहमति कार्यान्वयनको माग गरेका छन् ।

भोको पेटले आफूहरूले काम गर्न नसक्ने भन्दै उनीहरूले माग पूरा भएपछि मात्रै नियमित सेवामा फर्कने जनाएका छन् । विश्वविद्यालयले भने आंशिक शिक्षकको पारिश्रमिक भुक्तानी क्याम्पसबाटै हुने जनाएको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले अनलाइनबाट अध्यापन गराएको भए पनि आंशिक शिक्षकहरूले पारिश्रमिक पाउने निर्णय गरिएको जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot