Logo

कोरोनाविरुद्ध क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनसम्म भक्तपुरको तयारी



काठमाडौँ, १९ जेठ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९ विरुद्ध लड्न विभिन्न योजनाका साथ तयारी शुरु गरिएको छ ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणविरुद्ध लड्न भक्तपुरस्थित सङ्कट व्यवस्थापन समिति (सिएमसी) ले विभिन्न योजनासहित तयारी अगाडि बढाएको हो । जिल्लास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले वडा, नगर र जिल्लास्तरमा कोरोना भाइरस सङ्क्रमण रोक्न योजनाबद्ध रूपमा जिम्मेवारी वहन गर्ने गरी तयारी शुरु गरिएको सिएमसीका संयोजक एवं भक्तपुरका प्रजिअ हुमकला पाण्डेले जानकारी दिएका छन् ।

कोभिड–१९ विरुद्ध लड्न गुणस्तरीय क्वारेन्टिन, उपचार तथा आइसोलेशन र सङ्क्रमितको ज्यान गए शवको उचित व्यवस्थापनसम्मको तयारी गरिएको उनको भनाइ छ । सरकारले विदेशबाट उद्धार गरी ल्याएका प्रदेश नं १, २ लगायत पूर्वी जिल्ला जाने नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर ल्याएर निश्चित समय क्वारेन्टिनमा राखिने भएको छ । भक्तपुरमै पनि सङ्क्रमित बढ्दै गएको अवस्थामा राख्ने क्वारेन्टिनको व्यवस्था गरिने भएको छ ।

हाल खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण र नगरकोटको खानेपानी तालीम केन्द्रमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार सरकारले तयार पारेको ३०८ जना क्षमताको क्वारेन्टिन विदेशबाट फर्किएका नेपालीका लागि प्रयोगमा ल्याइने छ । आवश्यक पर्दा मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा ५० जना क्षमताको क्वारेन्टिन बनाउने तयारी गरिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्