Logo

कोरोना परीक्षणका लागि जिल्लामै ल्याब



काठमाडौँ, २१ जेठ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको मङ्गलबार बसेको १४औँ बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ ।

दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पिसीआर परीक्षण गर्न विराटनगर तथा काठमाडौँ पठाउँदा ढिलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल्याब स्थापना गर्न पहल गर्ने निर्णय गरेको हो । ल्याब स्थापना गर्नका लागि जिल्लाका दशवटै स्थानीय तहसँग समन्वय गरेर सङ्घ तथा प्रदेश सरकारसँग आवश्यक रकम र दक्ष जनशक्ति माग गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताएका छन् ।

“पिसीआर परीक्षणका लागि जिल्लामा सङ्कलन गरिएका स्वाबको रिपोर्ट विराटनगर तथा राजधानी काठमाडौँबाट चाररपाँच दिनमा मात्र आउने गरेको छ”, उनले भने, “बाहिरी जिल्लामा परीक्षण गर्न पठाउँदा यातायात भाडा, चिकित्सकको भत्तालगायत कारण बढी खर्च लाग्ने र ढिलोगरी रिपोर्ट आउने भएकाले जिल्लामै परीक्षण गर्ने वातावरण मिलाउन ल्याब स्थापना गर्ने निर्णय गरिएको हो ।” जिल्लामा सङ्कलन गरिएका स्वाबको पिसीआर परीक्षण गर्न बाहिरी जिल्ला पठाउँदा एक जनाको रु २० देखि २५ हजारसम्म खर्च हुने गरेको जिल्ला अस्पताल खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिएका छन् ।

जिल्लामा एक जनाको आरडिटी गर्दा रु एक हजार ५०० खर्च हुने गरेको जनाइएको छ । जिल्लामा पिसीआर ल्याब स्थापना गर्न रु २५ लाखदेखि रु एक करोड ५० लाखसम्मको उपकरण खरिद गर्न पाइने जनाइएको छ । उपकरण खरिद गर्न जिल्लाकै लगानीमा सम्भव भए पनि दक्ष जनशक्ति व्यवस्थापनमा कठिन हुने सम्भावना छ । (रासस)



प्रतिक्रिया दिनुहोस्