काठमाडौं, २१ जेठ । नेपालमा कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थपिएकामा १७९ पुरुष र २२ जना महिला रहेको जानकारी दिएका छन् । योसँगै कुल २३०० संक्रमित संख्या पुगेको छ ।
यसअघि हिजो २८८ संक्रमित थपिएर कुल संख्या २ हजार ९९ पुगेको थियो । हिजो थपिएका संक्रमितमा २२५ पुरुष र १४ महिला थिए ।
वैशाख महिनासम्म कोरोना भाइरसका संक्रमित संख्या सुस्त गतिमा बढेपनि जेठमा आइपुग्दा ह्वात्तै बढेको छ । जेठभर ८ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छ ।
जेठको पहिलो साता कोरोना संक्रमितको गति बढ्दै जाँदा तेस्रो सातामा आइपुग्दा वृद्धिदर निकै बढेको हो । यसले त्रास बढाएको छ । लकडाउनका बाबजुद संक्रमित संख्या बढिरहेपछि सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ ।
आज १२ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका छन् । अहिलेसम्म कुल २७८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।