Logo

युएइ र म्यानमारबाट यसरी गरियो १ सय ८३ जनाको उद्वार



जेठ २३, काठमाण्डौ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएसँगै विभिन्न देशमा काम, अध्ययन, व्यवसाय आदि गर्दै आएका नेपालीहरु स्वदेश फर्किन चाहेका छन् । उनीहरुलाई सरकारले स्वदेश ल्याउने आश्वासन दिएको धेरै भयो । आजदेखि भने विदेशमा रहेका नेपालीलाई ल्याउने कार्य सुरु भएको छ ।

कोरोना भाइरस प्रभावित देशमा रहेका नेपालीहरुले नेपाल फर्किन पाउँ भनेर माग गरेका धेरै समय वित्यो । सरकारले पनि उनीहरुलाई स्वदेश ल्याउने आश्वासन दिदै आयो । तर काम सुरु हुन नसक्दा चौतर्फी आलोचना र दबाब सृजना भइरह्यो । अन्ततः शुक्रबारदेखि सरकारले विभिन्न देशबाट उद्धार गरेर ल्याउने काम सुरु गरेको छ । र पहिलो चरणको उद्धार म्यानमारमा रहेका नेपालीको गरिएको छ । सरकारले शुक्रबार म्यानमारमा रहेका नेपालीहरुलाई उद्धार गरेको हो । म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई शुक्रबार काठमाडौं ल्याइएको हो । तर २६ जना नेपालीलाई म्यानमार सरकारले ल्याइदिएको हो । नेपाल आउन पाएकाहरुले खुशी व्यक्त गरेका छन् ।

सरकारले बनाएको कार्यबिधी अनुसार नेपाली सेनाले बिमानस्थलबाट होल्डीङ सेन्टरसम्म ल्याएको महिला बालबालिका मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । म्यानमारबाट स्वदेश फर्किएका २६ जनाकै कोरोना परिक्षण पीसीआर रिपोर्ट नेगेटिभ छ । त्यसैले उनीहरुलाई नेपाली सेनाको निगरानीमा एकदिन मात्रै होल्डिङ सेन्टरमा राखिनेछ । त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा पठाइनेछ ।

एक दिनका लागि उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिएको छ । काठमाडौंमा प्रदेश नं. ३, ४ र ५ घर भएकालाई मात्र राख्ने भनिए पनि म्यानमारबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको हो । म्यानमारबाट फर्किएकामध्ये वाग्मती प्रदेशका १७ जना, गण्डकी र प्रदेश एकका ४÷४ जना र प्रदेशका ५ का एक जना रहेका छन् ।

शुक्रबार नै संयुक्त अरब इमिरेट्स (युएई)बाट १५७ जना नेपाली स्वदेश फर्किएका छन् । सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

उनीहरु नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेका यात्रु भने होइनन् । दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु युएइबाट नेपाल आएका हुन् ।

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot