Logo

बन्दाबन्दीको स्वरूप बदल्न सुझाव



काठमाडौँ, २४ जेठ । लामो समयको बन्दाबन्दीका कारण काम गरेर खानुपर्ने वर्ग भोकै रहने अवस्था सिर्जना हुनसक्ने भन्दै राष्ट्रिय सभाका सदस्यहरूले यसको स्वरूप बदल्न सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सरकारलाई यस्तो सुझाव दिएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपीबहादुर सार्की अछामीले बन्दाबन्दीको स्वरूपलाई परिवर्तन गर्न सुझाव दिएका छन् । उनले सीमा र खासरखास क्षेत्रमा कडाइ गरेर अन्य क्षेत्रलाई सहज बनाउन समेत आग्रह गरेका छन् ।

व्यावसायिक क्षेत्र असाध्यै अप्ठ्यारोमा रहेको उल्लेख गर्दै उनले भने, “सरकारले साना, ठूला र मझौला उद्योगहरू क्रमशः सञ्चालनको वातावरण बनाओस् ।” उनले साना र मझौला उद्योगहरूले बैङ्कको ब्याज तिर्नुपर्ने र मजदुरहरू तलब नपाएर अवस्था दयनीय बनेको समेत उल्लेख गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका सांसद जितेन्द्रनारायण देवले कोरोना सङ्क्रमण अझै उच्च बिन्दुमा पुग्ने थप व्यक्तिहरूको मृत्यु हुनसक्ने प्रक्षेपण गरिएको उल्लेख गरेका छन् ।

उनले ठीक भएर फर्कनेको सङ्ख्या उल्लेखनीय भएको हुँदा हामी कोरोनासँग जुध्न सक्छौँ र निको हुन सक्छौँ भन्ने सन्देश दिन आवश्यक रहेको बताएका छन् । सांसद भगवती न्यौपानेले मानव जीवनको रक्षाका लागि गरिएको बन्दाबन्दीका कारण काम गर्न नपाएर जनजीवन झन् कष्टकर हुन लागेको हुँदा यसलाई केही परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot