Logo

अधिकांश कोरोना सङ्क्रमित क्वारेन्टाइनकै



काठमाडौँ, २५ जेठ । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुने अधिकांश व्यक्ति क्वारेन्टाइनमा बसेका रहेका छन् । शनिबारसम्म गण्डकी प्रदेशका सङ्क्रमण पुष्टि भएका ७५ जनामध्ये अधिकांश व्यक्ति विदेशबाट आएर क्वारेन्टाइनमा बसेका भएकाहरू रहेको पाइएको छ ।

गण्डकी प्रदेशका जिल्लामध्ये सबैभन्दा पहिले बागलुङमा गत चैत १५ गते एक युवतीलाई सङ्क्रमण पुष्टि भएको थियो । मुलुककै पाँचाँै सङ्क्रमितका रूपमा पुष्टि भएकी युवती र चैत २० गते छैटौँ सङ्क्रमितका रूपमा पुष्टि भएकी एक महिला निको भएर घर फर्किसकेका छन् । ती दुवैजना सङ्क्रमित कतार एयरवेजको विमानमा बेल्जियमबाट आएका थिए । नेपालमा दोस्रो सङ्क्रमण पुष्टि भएपछि उनको कन्ट्र्याक ट्रेसिङका क्रममा दुईजनालाई कोरोना पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा सुरुकै चरणमा कोरोना सङ्क्रमण देखिएपछि सबै विदेशबाट आएका, सङ्क्रमितको सम्पर्कमा रहेका र सङ्क्रमणको लक्षण देखिएका सबैको आरडीटी तथा पीसीआर विधिबाट परीक्षण गरिएको थियो । पहिलो चरणमा सबैको परीक्षण सकिएपछि केही सहज भए तापनि पछिल्लो समय भारतबाट आउनेहरूको सङ्ख्या अत्यधिक बढ्न थालेपछि सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको हो ।

शनिबारसम्म सङ्क्रमण पुष्टि भएका स्याङ्जाका सबै २३ जना, बागलुङका १९ मध्य १६ जना, नवलपरासी पूर्वका १३ मध्य १२ जना, कास्कीका तीन, तनहुँका तीन, म्याग्दीका दुईजना भारतबाट आएर सिधै स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा बसेकाहरू रहेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्