Logo

क्वारेन्टिनमा मनोसामाजिक परामर्श कक्षा



काठमाडौँ, २७ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्वारेन्टिनमा बसेका नागरिकलाई मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा क्वारेन्टिनमा राखिएका अधिकांश व्यक्तिको तनाव कम गर्न मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्न थालिएको हो । बाहिरबाट आएका व्यक्तिहरु १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दा मानसिक समस्यामा छन् ।

क्वारेन्टिनमा राखिएका व्यक्तिमा पर्ने मनोवैज्ञानिक असर कम गर्न मनोसामाजिक परामर्शकर्ता लगेर भेटघाट गराएर सम्झाइबुझाई गर्ने गरिएको बहुसांस्कृतिक मनोसामाजिक संस्था टिपियो नेपाल जुम्लाका मनोविमर्शकर्ता नन्दराज आचार्यले बताएका छन् ।

चन्दननाथ नगरपालिका–१ देखि १० वडासम्म क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मनोसामाजिक परामर्श दिन शुरु भइसकेको छ । प्रतिष्ठानका मनोचिकित्सक प्रवीण गिरीको संयोजकत्वको टोलीले क्वारेन्टिनमा मनोसामाजिक परामर्श दिन शुरु गरेको हो ।

चन्दननाथ–१ देखि १० मा निर्माण गरिएको क्वारेन्टिनमा ८३ पुरुष र १५ महिला गरी ९८ व्यक्ति बसेका छन् । उनीहरु नेपालका विभिन्न शहर तथा भारतबाट आएका हुन् । उनीहरुलाई नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

क्वारेन्टिनमा बस्नेको अवस्था बारेमा निरीक्षण गरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा गिरीको भनाइ छ । सङ्कटमा बाध्यतावश क्वारेन्टिनमा बस्नुपर्दा उनीहरुमा मानसिक असर पर्न नदिन मनोसामाजिक परामर्शको व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्