काठमाडौं, २८ जेठ । समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीले सरकारले अघि बढाएको नक्सासम्बन्धी संविधान संशोधन खारेज गर्नुपर्ने भन्दै संघीय संसद सचिवालयमा दर्ता गराएको व्यक्तिगत संशोधन प्रस्ताव फिर्ता नलिने अडान लिएकी छिन् । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा गिरीले आफू आफ्नो प्रस्तावमा अडिग रहेकोले संशोधन प्रस्ताव फिर्ता नलिने जानकारी गराईन् ।
तर, उनको पार्टीले भने संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख सचेतक उमाशंकर अरगरियाल लिखित रुपमै गिरीलाई प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । यदि प्रस्ताव फिर्ता नलिए कारबाही गरिनेपनि उनले चेतावनी दिएका छन् । गिरीले आफू आफ्नो प्रस्तावमा अडिग रहेकोले फिर्ता नहुने बताएकी छिन् ।
आजै साँझ गिरीको विशालनगरस्थित् निवासमा केही युवाहरुको समूहले कालो झण्डा देखाएका छन् । गिरी स्वयमले पनि ४० देखि ५० को संख्यामा युवाहरु आएको र आफूले प्रहरीलाई खबर गरेको जनाएकी छिन् ।
जसपाका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्नो पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी भएकोले यसका नेता तथा कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्याउने कार्य गर्न नहुने र गर्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले जो कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुने टिप्पणी गरेका छन् । File Photo