Logo

भूमिगत सिँचाइबाट धमाधम रोपाइँ



काठमाडौँ, ३१ जेठ । आकाशे पानीको भर पर्नुपर्ने कैलालीमा रोपाइँको चटारो सुरु भएको छ । पूर्वी कैलालीमा रानीजमरा कुलरिया नहरले केही क्षेत्रमा सिँचाइ सुविधा भए पनि जिल्लाको अधिकांश भाग आकाशे पानीको भरमा सिँचाइ हुने गर्छ ।

त्यसैले किसानले आकाशे पानीको भर पर्नुभन्दा भूमिगत सिँचाइका माध्यमबाट सिँचाइ गर्न थालेका छन् । लकडाउनका बेला विद्यालय बन्द भएपछि घोडाघोडी नगरपालिका–४, सुन्दरपुरका शिक्षक रामप्रसाद सापकोटाले भूमिगत सिँचाइबाट आफूले रोपाइँ गर्न थालेको सुनाएका छन् । थोरै खेत भएका किसानले पानी मोटर चलाएर पनि रोपाइँ गरेका छन् भने धेरै खेती गर्नेहरू आफ्नै लगानीमा खेतमा बोरिङ गाडेर रोपाइँ सक्ने तर्खरमा छन् ।

भजनी नगरपालिका–१ का कृषक हेमेन्द्र भारद्वाजले १२ बिघा आफ्नो जमिनमा चारवटा बोरिङ गरेर रोपाइँ धमाधम गरिरहेको बताएका छन् । उनले भजनीमा चैतेधान भित्र्याउने चटारोसँगै रोप्ने चटारो पनि रहेको बताएका छन् । सिँचाइ सुविधा नभएका किसानले समेत छिमेकीको बोरिङबाट पानी ल्याई असार १५ भित्र रोपाइँ सक्नेगरी रोपाइँ भइरहेको जानकारी दिएका छन् । किसानलाई सिँचाइका लागि विभिन्न निकायले कुलो, डिप ट्युबवेल, स्यालो ट्युबवेल, सौर्य सिँचाइमा सहयोग गरेसँगै कैलालीका किसानले समयमै धानखेती लगाउन सहज भएको हो । कृषि ज्ञान केन्द्र महेन्द्रनगरले कैलालीमा कुल खेती गर्ने जमिन ९० हजार हेक्टर क्षेत्रफल रहेको जनाएको छ ।

केन्द्रका प्रमुख रामचन्द्र भट्टले कैलालीमा जम्मा खेती गर्ने जमिनको ७०।२ प्रतिशत जमिनमा सिँचाइ सुविधा भएको बताएका छन् ।
उनले चालू आर्थिक वर्षमा ज्ञान केन्द्रले समेत कैलाली र कञ्चनपुरका पाँच सयवटा समूहलाई साना सिँचाइ आयोजनाका लागि सहयोग गरेको बताउँदै ७० प्रतिशत कैलालीका समूहले उक्त सहयोग पाउनुका साथै आठवटा सौर्य सिँचाइको व्यवस्थासमेत गरेको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्