Logo

क्याबिनेटमै ‘जाबो जोगी’ भनेकासँग ओली किन झस्किए



काठमाडौं, ३१ जेठ । २८ जेठको मन्त्रिपरिषद बैठकमा सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । घन्टौं चलेको बेठकमा धमाधम निर्णय र छलफलहरु भयो । तर, बैठकको अन्तिमतिर प्रधानमन्त्री केपी शर्मा ओलीले जाबो जोगीले यसो भन्ने भने ।

‘जाबो जोगीले ठुलो कुरा गर्ने ? भन्दा मन्त्रीहरुको हाँसो छुट्यो । उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई त्यस्तो भनेका थिए । ‘जाबो जोगी’ भनेपछि एकजनामन्त्रीले पोर्टफोलियो सम्झेर आलोचना गर्ने आशयले सम्झाएका थिए ।

संसदमा समेत योगीकै आलोचना गरेर ओली फर्किएका थिए । प्रधानमन्त्री भएर भारतको मुख्यमन्त्रीको नामै तोकेर आलोचना गरेकोमा केही मन्त्री असन्तुष्ट थिए । तर, फेरि ‘जाबो जोगी’ भनेर क्याबिनेटमा समेत बोलेपछि एक निडर मन्त्रीले प्वाक्क बोले, ‘प्रधानमन्त्री भएर छिमेकीको मुख्यमन्त्रीको के टिप्पणी गर्नुभएको ? बरु ट्रम्प र मोदीको आलोचना गरेको भए पो ?’ उनको आशय अर्थपूर्ण थियो ।

ओलीले एकै दिन योगी आदित्यनाथको आलोचना गर्नुका पछाडि उनले नेपाल तिब्बत बन्नसक्नेतर्फ सचेत हुन एउटा अन्तवार्तामार्फत भनेको विषय थियो । इतिहासमा तिब्बतले चीनको सहयोग माग्दा उल्टै अधिनमा पर्नुपरेको विषय उठ्ने गरेको छ । योगीको आशय यही थियो । नेपालमा चिनियाँ प्रभाव बढेको र ओलीले चीनलाई बढी बोलाइरहेको विषय भारतभित्र बहसको विषय बन्ने गरेको छ ।

योगी नेपालसँग सिमा जोडिएको उत्तर प्रदेशका मुख्यमन्त्री मात्र होइनन् गोरखपुरको गोरखनाथ मठको प्रमुख पनि हुन् । गोरखनाथ मठसँग नेपालको पुरानै साइनो हो । नाथ समुदायको प्रभाव नेपालको धेरै स्थानहरुमा छ । जग्गा जमिन पनि छ । त्यसमाथि योगी नेपाल मामलामा असाध्यै चासो राख्ने गर्छन् । उनी हिन्दु राष्ट्रका पक्षधर हुन् । राजसंस्थाप्रति सदाशयता राख्छन् ।

मुख्यमन्त्री नहुँदै योगी पशुपतिनाथको एक कार्यक्रममा सहभागी भई हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनको पक्षमा बोलेर गएका थिए । त्यतिबेला योगी शक्तिमा नभएकाले धेरैले वास्ता गरेनन् । तर, योगी यति शक्तिशाली रहेछन् भन्ने मुख्यमन्त्री बनेबाट देखिएको छ । कतिपयले उनलाई भारतको भावी प्रधानमन्त्रीका रुपमा समेत देख्न थालेका छन् ।

मोदीले योगी कार्ड प्रयोग गर्ने विषय नउठेको होइन । भारतको मध्य दक्षिणपन्थी डिजिटल पत्रिका टीएफआई पोष्टले मोदीले योगी कार्ड नेपालमा प्रयोग गर्लान् ? भनी विश्लेषण नै प्रकाशित गरेको थियो । भारतभित्र यो विषय पनि उठ्न थालेको छ ।

सत्तारुढ भारतीय जनता पार्टीका नेताहरु हिन्दु राष्ट्र फर्काउने पक्षमा खुलेरै देखिनथालेका छन् । भाजपा प्रवक्ता प्रेम शुक्लाले विगतमा हिन्दु राष्ट्र ध्वस्त पार्नु गम्भीर गल्ती भएको भनेका छन् । भाजपा निकट पूर्व जर्नेल गगन दीप बक्सीले भारतले माओवादीलाई प्रयोग गरी हिन्दु राष्ट्र ध्वस्त पारेर सेल्फ गोल गरेको टिप्पणी गरिसकेका छन् । भारतले यसैको सजाय भोगिरहेको उनको तर्क थियो । यसरी भारतभित्र चर्केको नेपाल मामलामा धर्मको बहसलाई गम्भीरताका साथ लिइएको छ । कतै भारतले विगतकै प्रणालीतर्फ त ध्यान खिचेको छैन ? यो प्रश्न उठेको छ । तर, नयाँ प्रणालीमा गइसकेको अवस्थामा पुरानै प्रणाली स्थापित गर्न सहज भने छैन । उठेका विषयले ओलीलाई भने झस्काएको छ । त्यसैले उनी जाबो जोगीसँग शतर्क हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot