जेठ ३२, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई यही वर्षभित्र महाधिवेशन गर्नुपर्ने बाध्यता छ । भातृसंगठनको महाधिबेशन गर्न नसकेको कांग्रेसलाई पाटीभित्रको महाधिबेशन गर्न कोरोना महामारीका कारण झनै समस्या भएको छ । नेपाल विद्यार्थी संघको महाधिवेशन पनि तोकिएको समयमा नहुने सम्भावना बढेर गएको छ ।
नेपाली कांग्रेसले १४ औँ महाधिवेशन यसै वर्षको फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्ष नै गरिएको यो निर्णय अहिले धरापमा पर्ने हो कि भन्ने आशंका उब्जिएको छ । केन्द्रिय महाधिवेशनअघि गर्नुपर्ने धेरै प्रक्रिया हुन्छन्, जसको सुरुवातसमेत हुन सकेको छैन । क्रियाशील सदस्यता फागुन र चैत भित्र वितरण गर्ने, २०७६ माघ मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने र २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने भनिएको थियो । तर यि काम हुन सकेको छैन ।
कोरोना माहामारीको त्रासकाबीच सबैखाले कार्यक्रम गर्न नमिल्ने भएपछि कांग्रेस अप्ठ्यारोमा परेको हो । त्यसैले अब कोरोना कहरकै समयमा भएपनि भौतिक दुरी कायम गरेर प्रबिधिको प्रयोग गरेर छलफल गरी पुरानो तालिकाअनुसारनभएपनि २०७७ सालमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने नेताहरु बताउँछन् । २०७७ वैशाख मसान्तभित्र नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने २०७७ जेष्ठ १५ गतेभित्र छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने, लगायत २०७७ श्रावण १५ गतेभित्र उजुरीरपुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि तोकिएको थियो ।
२०७७ श्रावण २५ गतेभित्र नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने थियो । गाउँनगर वडाको अधिवेशन २०७७ कात्र्तिक १६ गतेदेखि सुरु भएर विभिन्न तह पार गर्दै फागुन ७ गतेदेखि केन्द्रिय महाधिवेशन गर्ने तालिका छ ।
यस्तो छ कांग्रेसको महाधिवेशन तालिका :
-गाउँ/नगर वडा अधिवेशन– २०७७ मंसिर ९ गते
-गाउँ/नगरपालिका अधिवेशन– २०७७ मंसिर ११ गते
-प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १५ गते
-प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १७ गते
-जिल्ला अधिवेशन – २०७७ मंसिर २५ गते
-प्रदेश अधिवेशन– २०७७ पौष १५ गते
-केन्द्रीय महाधिवेशन : २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।
माउ पार्टीको जस्तो अवस्था छ नेपाल विद्यार्थी संघको पनि । निर्वाचित कार्यसमितिले नेविसंघको अधिवेशन गराउन नसकेपछि पार्टीले राजिव ढुंगानको नेतृत्वमा तदर्थ समिति बनाएर ६ महिनाभित्र अधिवेशन गराउने जिम्मा दिएको थियो । साउनभित्र महाधिवेशन गराउनुपर्ने भए पनि कोरोना महामारीका कारण असम्भव जस्तै देखिएको छ । क्याम्पस अधिवेशन समेत गर्न नसकेको बेला जिल्ला जिल्लामा प्रतिनिधि खटाएर काम गर्ने स्थिति नभएको नेविसंघका अध्यक्ष राजिव ढुङगानाले बताए ।
आन्तरिक किचलो र विवादका कारण विगतमा पनि नेपाली कांग्रेसले समयमा नै अधिवेशन गराउन नसकेको उदाहरण धेरै छन् । तर यसपटक त कोरोनाका कारण परेको अप्ठ्यारोले विवाद र किचलो नहुँदा पनि माउ पार्टी कांग्रेस र त्यसको भातृ संगठन नेविसंघको अधिवेशन पूर्व निर्धारित समयमा नहुने अवस्था सृजना भएको छ ।