Logo

नेपालका सबै १९ जना कोरोना संक्रमितको मृत्युको घटना जेठमै (विवरणसहित)



काठमाडौं, १ असार । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । सबै मृत्युको घटना जेठमा भएको हो ।

सबैभन्दा पहिलो मृतक सिन्धुपाल्चोककी सुत्केरी थिइन् । उनको मृत्युपछि नेपालमा संक्रमणबाट धमाधम मानिसको ज्यान जान थाल्यो । यसरी १९ जना मृत्यु भएकामध्ये १६ पुरुष र ३ महिला छन् ।

मृतकहरु भारतबाट फर्किएका धेरै छन् । उनीहरुमध्ये कतिपय क्वारेन्टाइनमा रहँदा संक्रमण पत्ता लागेका थिए । कतिपय मृत्युपछि स्वाब परीक्षणका क्रममा संक्रमण पत्ता लागेको थियो ।

पछिल्लो पटकका मृतक गुल्मीका ३६ वर्षीय पुरुष हुन् । उनी रेसुङ्गा नगरपालिकाको आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको थियो । भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको थियो । उनलाई क्यान्सरको समेत संक्रमण थियो । संक्रमणको जानकारी ३२ जेठमा दिइएको थियो ।

यसअघि ३१ जेठमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो । मृतक एकजना बारा निजगढका ५ वर्षीय बालक हुन् भने अर्का बेवारिस रुपमा फेला परेका २५ वर्षीय पुरुष हुन् ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको थियो । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अर्का बालक बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी हुन् । उनलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु गरिएका थियो । स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको । प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको थियो ।

यसअघि मृतक अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुष हुन् । उनको स्वास प्रश्वासमा समस्या आई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएको थियो । मृतक पुरुषको स्वाब संकलनका क्रममा २९ जेठमा कोरोना संक्रमण पत्ता लागेको थियो । ती पुरुष १२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएका थिए ।

अन्य मृतकमा भरतपुर महानगरपालिका वडा ११ का निमोनिया संक्रमित पुरुषको २६ जेठमा पुष्टि भएको थियो । निमोनिया संक्रमित उनको उपचारका क्रममा निधन भएको थियो ।

यसैगरी, २६ जेठमा स्याङ्जाको वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनको मृत्यु पश्चात नमुना परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि मृत्यु हुनेहरु विभिन्न जिल्लाका छन् । डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु २० जेठमा भएको थियो । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २४ जेठमा पत्ता लागेको थियो ।

यसैगरी २४ जेठमै कोरोना संक्रमण पत्ता लागेकी सेती अञ्चल अस्पतालकी ५५ वर्षीया महिला धनगढी ४ की हुन् । मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको उनको कोरोना संक्रमण भेटिएको थियो ।

यसअघि सुर्खेतका पुरुषको हिजो मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु पुष्टि भएका २० वर्षीय युवक ७ जेठमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

पञ्चपुरी नगरपालिका १ हाँसे घर भएका उनको त्यतिबेला परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । युवकको परीक्षणबाट पोजेटिभ आएको पुष्टि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेका छन् ।

पाल्पाका एक पुरुषको मृत्यु पुष्टि भएको थियो । उनी सिलुवाखोलाका ४५ वर्षीय पुरुष हुन् । उनी स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि तीन दिन अघि मिसन अस्पताल पाल्पामा लगिएको थियो ।

उपचारका क्रममा ती पुरुषको २० जेठमा मृत्यु भएको थियो । स्वाब संकलनका क्रममा संक्रमण पत्ता लागेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मृतक पुरुष पाँच दिन अघि भारतबाट आएका थिए ।

२१ जेठमा थप एकजनाको मृत्यु भएको थियो । मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र अपरेशन भएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको थियो ।

१७ जेठमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका घर भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । दुल्लुस्थित पटांगिनी बजारको क्वारेन्टाइनमा रहेका उनी एक्कासी ढलेको र केही समयपछि मृत्यु भएपछि परीक्षणका लागि जुम्लामा स्वाब परीक्षणका लागि लगिदा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष । पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि
८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।
९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।
१०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष । स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो । उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको
११. सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक । ७ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका । परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो । मृत्यु भएपछि नमुना परीक्षणका क्रममा २३ जेठमा कोभिड १९ पुष्टि भएको
१२. डोल्पाका ५८ वर्षीय पुरुष । जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २० जेठमा मृत्यु भएको । नमुना परीक्षणका लागि स्वाब संकलन गरी २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको । २४ जेठमा कोरोना संक्रमण पुष्टि भएको
१३. कैलालीकी ५५ वर्षीया महिला । धनगढी ४ की मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो । सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको । २४ जेठमा कोरोना संक्रमण पत्ता लागेको
१४. स्याङ्जा वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुष । मृत्यु पछि २६ जेठमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको
१५. चितवन भरतपुर ११ का पुरुषको २७ जेठमा निधन भएको । निमोनिया संक्रमित उनको २६ जेठमा कोरोना संक्रमण पुष्टि भएको ।
१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुष । १२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएको । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएकोमा २९ जेठमा पत्ता लागेको । ३० जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको । स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको छ । ३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको
१८. बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी ५ वर्षीय बालकलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु । स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको । प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको ।
१९. गुल्मीका ३६ वर्षीय पुरुष । रेसुङ्गामा आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको । भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको । क्यान्सर संक्रमित उनको मृत्युको जानकारी ३२ जेठमा पुष्टि गरिएको



प्रतिक्रिया दिनुहोस्

Screenshot