Logo

लगानीको वातावरण सहज बनाउन आग्रह



काठमाडौँ, २ असार । कोभिड १९ महामारी र बन्दाबन्दीबाट प्रभावित नेपालको अर्थतन्त्र र रोजगारीको तीव्र विस्तार गर्न स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नेतर्फ विशेष ध्यान दिन निजी क्षेत्रले सरकारसमक्ष आग्रह गरेको छ ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग भेट गरी छिटो छरितो रूपमा सहज ढङ्गले लगानी गर्न सक्ने वातावरण बनाइदिन आग्रह गरेको हो ।

देशमा सिर्जना हुने बेरोजगारीको अवस्थालाई ध्यानमा राख्दै औद्योगिक वातावरण तयार गर्न, उद्योग व्यवसाय विस्तार गर्न, स्वदेशी लगानीकर्तालाई उत्साहित गर्न र विदेशी लगानी भित्र्याउन सजिलो बनाउन आग्रह गरिएको हो ।

परिसङ्घले आर्थिक, उद्योग–व्यवसाय कानुनमा रहेका झन्झटिला र असहज व्यवस्थालाई आवश्यकता अनुसार संशोधन, खारेज तथा निलम्बन गरी लगानीको वातावरण सिर्जना गर्नुपर्ने धारणा राखेको समाचार गोरखापत्रले प्रकाशित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot