Logo

असारमा मात्रै २ खर्ब उठाउनुपर्ने अवस्थामा सरकार, लक्ष्य धरापमा



असार २, काठमाण्डौ । चालु आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना प्रारम्भ भइसकेको छ । महत्वाकांक्षी बजेट ल्याएर सुरुदेखि नै हरेक सूचकाङ्कमा खराब प्रदर्शन गर्र्दै आएको केपी ओली नेतृत्व सरकारले लक्ष्य भेटाउनका लागि असार महिनामा मात्र करिव २ खर्ब रुपैयाँ खर्च गर्नु पर्ने देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा गरिने विकास खर्च र अन्य खर्च सहित आर्थिक लक्ष्य नभेटाउने भएपछि त्यसको दोष कोरोना भाइरसको महामारीलाई बताउँदै आएको छ । चैत यता ‘कोरोना बहाना’ ले केही राहत दिएको सरकारले चालु आर्थिक वर्ष सकिन अब एक महिनामात्र बाँकी रहदाँ वार्षिक रुपमा हासिल गर्ने लक्ष प्रायः निश्चित नहुने अबस्थामा पुगेको छ ।

यो वर्ष सरकारले सुरुको विनियोजन १५ खर्ब ३२ अर्ब ९६ करोडको तुलनामा ३० प्रतिशत कम अर्थात १० खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँ मात्र खर्च गर्ने पछिल्लो संशोधित अनुमान रहेको छ । यो लक्ष्य भेटाउन समेत असार महिनाभर सरकारले एक खर्ब ९६ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । संकटमा पनि बजेट खर्चलाई असार लाग्नैपर्ने प्रवृत्तिबाट यो वर्ष पनि सरकार माथि उठ्न सकेको छैन । चैतयता लकडाउनका कारण राजस्व समेत उठाउन नसकेको सरकारले बजेटले संशोधन गरेको तेस्रो लक्ष्यसमेत नभेटाउने निश्चित जस्तै भएको छ ।

मुलुकको पुँजी निर्माणमा विकास खर्चले मुख्य भूमिका खेल्ने गर्दछ । जसका आधारमा आर्थिक वृद्धि र अन्य सूचकमा समेत सुधार हुने गर्दछ । तर चालु आवमा सबैभन्दा दयनीय अवस्थामा पुँजीगत खर्च हुन पुगेको छ । ११ औं महिना (जेठ मसान्त) सकिँदासम्म एक खर्ब २६ अब ५ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ । यो वर्ष सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्चको लक्ष्य तोकेको थियो । ११ औं महिनासम्म आइपुग्दा लक्ष्यको मात्र ३१ प्रतिशत मात्र खर्च भएको छ । सरकारले खर्चमा कैची लगाउने क्रममा ठूलो रकम पुँजीगततर्फकै काटेको छ ।

बजेटले तोकेको तेस्रो संशोधनअनुसार पुँजीगत खर्च २ खर्ब ३९ अर्ब ९ करोड अर्थात सुरु विनियोजनको मात्र ५८ दशमलव ६ प्रतिशतसम्म मात्र पु¥याउने लक्ष्य रहेको छ । यो लक्ष्य भेटाउन समेत अब सरकारले एक महिनामा एक खर्ब १३ अर्ब ४ करोड रुपैयाँ खर्च गर्नुपर्ने छ । असार १ गतेका दिनबाट प्रतिदिन ३ अर्ब ७६ करोड रुपैयाँ विकास खर्च हुँदामात्र बजेटले लिएको तेस्रो संशोधनसम्मको लक्ष्य सरकारले भेटाउने छ । चालु आर्थिक वर्ष २०७६÷७७ को ८ महिनासम्म विकास निर्माणमा गति लिन नसकेकै कै असर अहिले देखा परेकोे छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार यस वर्ष सरकारको खर्चमात्र नभई राजस्व संकलनमा समेत झन ठूलो खाडल पर्न गएको छ । सरकारले यस वर्ष कुल ११ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्वको लक्ष्य राखेको थियो । चालु आवको ११ महिना बितिसक्दा लक्ष्यको ५८ दशमलव २५ प्रतिशतमात्र राजस्व उठेको छ । यसअवधिमा ६ खर्ब ४७ अर्ब ७९ रुपैयाँ मात्र राजस्व संकलन भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot