Logo

सरकारले कोरोनालाई झाडा पखालाको रुपमा लिएको छः कांग्रेस प्रबक्ता शर्मा



काठमाडौं, असार ४ । नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले कोरोनाको कहरलाई सरकारले झाडा पखालाको रुपमा हेरेको टिप्पणी गरेका छन् । उनले कोरोनाको महामारीलाई नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिन सुझावसमेत दिएका छन् ।

उनले सरकारले विदेशमा रहेका नेपालीको उद्धार क्वारेन्टिनको उचित व्यवस्थापन गर्न कांग्रेसले ज्ञापनपत्रसहित आग्रह गर्दा पनि प्रधानमन्त्रीले गम्भीरतापूर्वक नलिएको आरोप पनि लगाए।

पत्रकार ऋषि धमलासँग कुरागर्दै प्रवक्ता शर्माले अहिलेको यस्तो संवेदनशिल घडीमा सुझावसहित ज्ञापनपत्र बुझाउन जाँदा आधा घण्टा वेसारको मात्रै कुरा सुनाउने प्रधानमन्त्रीबाट कोरोना संक्रमण नियन्त्रण हुने अपेक्षा गर्न नसकिने बताए। प्रधानमन्त्री ओलीले कोरोनाप्रति पटक्कै गाम्भिर्यता नदेखाएको उनको भनाई छ ।

शर्माले कांग्रेसले भने अनुसार सरकारले कामगरे अझै पनि कोरोनाको कहरलाई नियन्त्रणमा लिन सकिने भन्दै प्रधानमन्त्री ओलीलाई सवै स्वास्थ्य सामग्रीको व्यवस्थापन तत्काल केन्द्रीय सरकारले गर्ने,विदेशमा भएका नेपालीहरुलाई व्यवस्थित रुपमा नेपाल ल्याउने र स्थानीय तहलाई सवै व्यवस्थापन गर भनेर आवश्यक रकम छुट्याइदिन सुझाव दिएका छन् ।

हामीले स्वाब परिक्षण गरौ भन्यौँ तर, प्रधानमन्त्रीले स्वाब भन्ने कुरा बुझ्नुभएछ भन्दै उनले भने,‘प्रधानमन्त्रीले काम गर्ने ढंग पुर्याउन सक्नु भएन । काम गराइमा क्षमता देखिएन । कुनै कुरामा पनि गाम्भिर्यता देखिएन । अहिलेसम्म जे विग्रिएको विग्रिसक्यो पछि छलफल गरौला । अहिले रोक्ने प्रयास गरौ ।’



प्रतिक्रिया दिनुहोस्