Logo

कालापानी क्षेत्रबाट ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिने



काठमाडौँ, ५ असार : यही असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।

लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट नेपालमै सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने वरिष्ठ खगोलविद् एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले जानकारी दिनुभयो । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ ।

यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ । ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने उहाँले सुनाउनुभयो ।

चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।

ग्रहण हेर्न बनाइएको बिशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो । ग्रहणका बेला दान दक्षिण गर्दा विशेष फल मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । नदी तट वा गङ्गामा गई ग्रहणको स्नान गरी शुद्घ हुने गर्दछन् ।

तान्त्रिकहरु मन्त्र सिद्घ गराउनका निमित्त ग्रहण लागेको समयलाई उपयुक्त मान्छन् । यसैले ग्रहणका समयमा मन्त्रको साधना समेत गर्दछन् । ग्रहणसम्बन्धी अन्धविश्वास संसारभरी नै रहेको पाउन सकिन्छ । रोमनहरु ग्रहणका बेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्दछन् । प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । सूर्यग्रहणका बेलामा उनी शहरको मुख्य मन्दिरमा परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेटिन्छ ।

सूर्यग्रहण नेपालमा बिहान १०ः५५ देखि शुरm भई अपराह्न २ः२४ बजे समाप्त हुने छ । मध्याह्न १२ः०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने छ । ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ । त्यसदिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महशुस हुने खगोलविद् आचार्यले बताउनुभयो ।

धर्मशास्त्रअनुसार सूर्यग्रहण मेष, सिंह, कन्या एवं मकर राशि भएका मानिसले मात्र हेर्न हुने समितिका सदस्य सचिव तथा पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । वैज्ञानिक मतमा भने सूर्यग्रहण जो सुकैले सुरक्षित तरिका अपनाएर हेर्न हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराई बताउनुहुन्छ ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो । खगोलविद्का लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद् सूर्य, चन्द्र तथा पृथ्वीको सही दूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् । साना बालबालिकाका लागि विज्ञानमा रुचि पैदा गराउन यस्ता घटना उपयोगी हुन्छन् । नेपालबाट करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिन्छ ।

कहाँबाट हेर्न सकिन्छ सूर्यग्रहण

सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ ।

शनिबार साँझ ७ः०० बजे सूर्यग्रहण विषयमा जिज्ञासा हुनेले सोसाइटीका विज्ञसँग प्रश्न राख्न सक्ने अध्यक्ष भट्टराईले बताउनुभयो । सूर्यग्रहणका विषयमा जिज्ञासा हुनेले शनिबार साँझ सोसाइटीको प्रत्यक्ष सामाजिक सञ्जाल पेजमार्फत् प्रत्यक्ष प्रसारणका बेला प्रश्न राख्न सक्ने छन् । प्रश्न ‘आस्क नासो हस्टेज’मा राखेर सामाजिक सञ्जालमा पोष्ट गर्न सकिने सोसाइटीले जनाएको छ ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्