६ असार : तेहरानको आकाशमा सन् २०२० को जनवरीमा दुर्घटनाग्रस्त यूक्रेनी विमानको ‘ब्ल्याक बक्स’ को डाटा अध्ययनका लागि फ्रान्स पठाउन लागिएकोे इरानी विदेशमन्त्री मोहम्मद जवेद जरिफले सोमबार बताउनुभएको छ ।
मन्त्री जरिफले उक्त कुरा क्यानडाली विदेशमन्त्री फ्राँस्वा फिलिप च्याम्पियनसँगको टेलिफोन वार्तामा बताउनुभएको हो ।
उक्त विमानको ब्ल्याक बक् आगामी केही दिनमा तेहरानबाट फ्रान्स पठाइनेछ,”जरिफलाई उद्धृत गरी इरानी राष्ट्रिय समाचार संस्था, आइआरएनए, ले समाचारमा उल्लेख गरेको छ ।
यूक्रेनी बोइङ कम्पनीको यूक्रेनी ध्वजावहाक विमान ७३७–८०० विमान इरानको राजधानी तेहरानबाट यूक्रेनको राजधानी किभका लागि उडेको केही समयपछि तेहरानस्थित खोमेइनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गत जनवरी ८ तारिखका दिन दुर्घटनाग्रस्त भएको थियो । विमानले १७६ यात्रसहित चालक दलका सदस्य लिएर उडिरहेको समयमा दुर्घटनाग्रस्त भएको इरानले प्रारम्भिक अवस्थामा बताएको थियो ।
स्याटलाइट तस्वीरहरूमा विमानलाई कुनै मानव निर्मित वस्तु (हतियार) आई ठोकिएपछि दुर्घटनाग्रस्त भएको भनी क्यानडालगायतका मुलुकले यसको स्वतन्त्र छानवीनका लागि दवाव दिएपछि इरानले विमानलाई इरानी सैनिकले खसालेको स्वीकार गरेको थियो ।
केही समयपछि भने विमानमाथि इरानी सैनिक मिसाइल ‘भूलबस’ लागेको पुष्टि गरेको थियो । शुरूमा विमानको ब्ल्याक बक्स विदेश पठाउन नमानेको इरानले करिब छ महिनापछि यसलाई अध्ययनका लागि फ्रान्स पठाउन सहमत भएको हो ।सिन्ह्वा